काठमाडौं, ८ भदौ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को नयाँ नेतृत्व चयनका लागि चुनावी तयारी तिव्र पारिएको छ । बर्तमान कार्यसमितिले आन्तरिक विबादलगायतका कारण खास काम गर्न नसकेपछि चुनाव ६ महिना पर सार्ने बजार हल्ला चलिरहेको बेला सप्टेम्बर महिनाभित्र चुनाव गर्नेगरी तयारी अघि बढाइएको टानका महासचिव कर्ण लामाले जानकारी दिनुभयो ।

“सेप्टेम्बरभित्र ३९औं वार्षिक साधारणसभा र नयाँ कार्यसमितिको निर्वाचन गर्नेगरी पुरै कार्यसमिति युद्ध स्तरमा जुटेका’ महासचिब लामाले भन्नुभयो ‘टानको आगामी नेतृत्व सर्वसम्मत रुपमा चयन हुनुपर्छ भन्नेमा हाम्रो जोड रहेको छ, जसले संस्थालाई सहि ढंगले अघि बढाउन सकोस् ।’

आफ्नो कार्यसमितिले विभिन्न बाधा अड्चनका बीच पनि थुप्रै काम गरेको दाबी उहाले गर्नुभयो । ‘हामीले जे जति कार्य गर्न सक्नुपर्थ्यो’ उहाले थप्नुभयो ‘विगतदेखिको समस्या समाधान गर्न समय खर्च गर्नु परेकोले त्यो अनुरुप गर्न सकिएन । टीम्समार्फतको रकम पर्यटन वोर्डबाट निकासा नहुँदा हामीले आर्थिक संकट व्यहोर्नुपर्‍यो । त्यसका वावजुत पनि थुप्रै कामहरु गर्‍यौ ।’

लाङ्टाङ क्षेत्रको पदयात्रा मार्गको पुनर्निर्माण र इसिमोडसंगको सहकार्यमा ताप्लेजुङ्गमा कार्डमम स्पाईसी गार्डेन होमस्टे प्रोजेक्ट निर्माणाधिन अवस्थामा रहेको महासचिव लामाले जानकारी दिनुभयो । विभिन्न सरकारी निकायसंग पर्यटन सम्बन्धी नीतिको लागि जोडदारका साथ पहल गरेको र विभिन्न ४ ओटा मजदुर संगठनसंग सम्बद्ध उच्च स्तरिय श्रम विभाग समितिसंग महत्वपूर्ण सम्झौता गरेकोसमेत उहाले जनाउनुभयो ।

टान निर्वाचनको बिषयमा यता पर्यटन क्षेत्रमा अनौपचारिक बहस सुरु भएको छ । समयावधीभित्रै निर्वाचन गराउनुपर्नेमा पर्यटन व्यवसायीहरुको जोड रहेको छ ।