पुस १४, २०७३- गाउँमा कृषि सडक विस्तारपछि उदयपुरबासीलाई आफ्ना उत्पादन बजारसम्म पुर्‍याउन सजिलो भएको छ । गाउँको शिरदेखि पुछारसम्म सडकको सुविधाले अन्नपात, फलफूल र तरकारीलाई बजार लैजान सहज भएको हो ।

यो कृषि सडक गाउँलेहरू जुटेर बिस्तार गरेका हुन् । यो ग्रामीण कटारी–ओखलढुंगा–सोलुखुम्बु सडकमार्गमा पर्ने मानेभञ्ज्याङ बजारदेखि करिब नौ किलोमिटर पूर्वतर्फ फैलिएको छ । गाविस पूर्वअध्यक्ष मोतीराज राईका अनुसार यो सडक ०५९ सालबाट सुरु विचमा रोकिएर हालै सम्पन्न गरिएको हो । ‘स्थानीयबासीको लगानीमा गाउँको शिरदेखि पुछारसम्म सडक बनेको हो,’ उनले भने, ‘अब यहाँका उत्पादन बजार पुर्‍याएर आम्दानी लिन सकिने भयो ।’ मानेभञ्ज्याङ–क्वाक्टोम्पु सडक योजनाका संयोजक रामकुमार राईका अनुसार सडक सञ्जाल विस्तार गर्न स्थानीयबाट करिब ११ लाख रुपैयाँ सहयोग संकलन गरिएको थियो । ‘गाउँटोलसम्मै सडक पुर्‍याउने सर्तमा न्यूनतम ५ हजार र अधिकतम २ लाख रुपैयाँ उठाइएको थियो,’ उनले भने, ‘यसबाटै यो सडक बन्नेको हो ।’

समुद्री सतहदेखि करिब १५ सय मिटर उचाइमा रहेको यो गाउँ कृषिका निम्ति ऊर्वर छ । सुन्तला, नास्पाती, निबुवा, कागती, भोगटे, अम्बाजस्ता फलफूल उत्पादन हुने गरेको छ । तर, जलवायु परिवर्तनका कारण केही वर्षयता सुन्तलाको बोटै मासिन थालेको छ । अन्नबालीहरूमा मकै, कोदो, धान, जुनेलो, गहत, गहुँ, फापर उत्पादन हुने गरेको छ । त्यसैगरी कालो मास, भटमास, मस्याङ, तोरी, फिलिंगे, बदाम, उखु, अदुवा फलाउने गरेका छन् । व्यावसायिक रूपमा तरकारी खेती गर्ने गरिएको छ । स्थानीय कृषक कर्णबहादुर राईले ढुवानीका लागि मोटरसाइकलबाट मात्रै गरिएको बताए ।