काठमाडौं: आराम गर्ने दिनको रूपमा वर्षमा एक पटक फाङ्गी पर्व आलु र मुलाको परिकार खाएर शेर्पाहरूले भव्य रूपमा मनाएका छन्। शेर्पाको उद्गम थलोको रूपमा मानिने खुम्बु क्षेत्रका नाम्चे, खुम्जुङ, खुङ्जे, फोर्चे, पाङ्बोचे, थामेमा यो वर्ष मनाउने गरिए पनि हिजोआज शेर्पाहरूको बसोबास रहेको अन्य क्षेत्रमा पनि यो पर्व मनाउन थालिएको छ । हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा जातिले यो पर्व साउनमा तेस्रो सातामा मनाउने गर्छन्।

हिमाल, हिमतालको पूजा गरेर फाक्री (पिठोभित्र विभिन्न परिकार राखेर पकाइएको वस्तु) खाएर मनाइन्छ। पिठोको डल्लामा फरकफरक वस्तु राखेर पकाउने र कस्कोमा के पर्छ त्यसैअनुसार वर्षभरिको भाग्य कायम हुने विश्वास रही आएको सोलुखुम्बु खुङ्जेका लाक्पागेलु शेर्पाले बताए।

हिमपात रोकिएपछि घाँस पलाएको हुनाले चौरी, याक, भेडा, च्याङ्ग्रालाई चरणका लागि खर्कमा पठाउने, आलु, जौ, मुलालगायतका बाली उठाइसकेपछि फुर्सदको समयमा उत्पादन भएका वस्तुबाट परिकार बनाएर खाँदै सुखका साथ शुभकामना आदानप्रदानसहित यो पर्व मनाउने गरिन्छ । वर्षभरि काम गरेर थकित शरीरलाई आराम दिएर मोटाउन फाङ्गी पर्व मनाउने गरिएको जनविश्वास छ।

समूह बनाएर मनाउने गर्नाले खुम्बुका नाम्चेदेखि माथि एक समूह, नाम्चेदेखि लुक्लासम्मको एक समूह र त्यसभन्दा तल सल्लेरीसम्मको एक समूह र अन्य क्षेत्रवासीले पायक परेअनुसारको समूह बनाएर यो पर्व मनाउने गर्छन्। वस्तुविनिमय नहुँदा सटहीको समयमा जस्तै प्रत्येक घरबाट नुन, खुर्सानी, दाल, चामल, आलुलगायतका वस्तु उठाएर एकै स्थानमा पकाएर खाई रमाइलो गर्ने गर्छन्।

फाकही ङिङच्युत भनेर चिनिने यो पर्व वर्षमा एक दिन पर्ने हुनाले सो दिन खानेकुरा खाँदा शरीरमा लाग्ने र त्यो दिन मुला खाए पनि बोसोयुक्त हुने विश्वास रहेको सोलुखुम्बुका नुरुछेपाल शेर्पाले बताए । शेर्पा जातिको ल्होसार विशेष चाड भए पनि फाङ्गी मौसमी पर्वको रूपमा मान्ने गरिन्छ।