चितवनका प्रेम पाण्डेले भिजिट भिषामा युएई ल्याएर अलपत्र परिएका ३ जना नेपाली युवाहरु जीवनभर युएई प्रतिबन्ध (लाइफ ब्याण्ड)को सजाय पुर्जी बोकेर बुधबार नेपाल फर्किएका छन ।

 

दाङका कुल केसी, रुकुम सिम्लेका प्रेम प्रकाश केसी र कचनापुर बाँकेका लोकबहादुर डाँगी बुधबार राती एअर अरेवियाको उडानबाट नेपाल फर्किएका हुन् । ठमेलमा रहेको अर्थलाइन र क्रोमोज ट्राभल्समार्फत दुई लाखदेखि तीन लाख ८० हजार रूपैयाँसम्म तिरेर भिजिट भिषामा युएई आएका उनीहरुको भिषा सकिएर ओभर स्टे भएको थियो । दलालले कानुनी प्रक्रिया पूरा गरेर जरिवाना तिरेर प्रतिबन्ध हटाउने प्रतिवद्धता दुतावासमा गरे दलालले धाेका दिएपछि उनीहरु एक दिन युएई प्रहरीकाे हिरासतमा बसेर जीवनभरलाई प्रतिबन्धको कागज बोकेर नेपाल फर्केका हुन् । तर, उनीहरुलाई नेपाली राजदुतावास युएईकी श्रम सहचारी हिरा यादवले प्रतिवन्ध फुकुवाको लागि पहल गरिदिने आश्वासन दिएकी छिन् ।

नेपाल फर्कनु पहिले नयाँ पत्रिकासँग कुरा गर्दै पीडितहरुले नेपाल गएर दलालका विरुद्ध उजुरी दिने बताए । पीडित कुल केसीले भने,–“दलालले हामीलाई मानसिक र शारिरिक यातना दिएको छ ,त्यसको न्याय खोज्न सम्बन्धित निकायमा जानेछौ ।” दलालको पछि लागेर अवैधानिक तरिकाले आउँदा धेरै समस्याहरु भोगेको बताउने उनीहरु ठग, दलालको बहकाउमा लाग्न नहुने बताए । उनीहरु मध्य कन्चनपुर बाँकेका लोकबहादुर डाँगीकी आमाको मृत्यु हुँदा पनि दलालले गरेको ढिलाइका कारण उनी नेपाल फर्कन पाएका थिएनन् ।

उनीहरु सँगै आएका बाँकी १५ जना दुइ हप्ता पहिले नेपाल फर्किएका थिए भने एक जना मंगलबार मात्र नेपाल फर्किएका थिए । युएईमा रहेको दलालले विभिन्न धम्की र मानसिक यातना सहेर रहेका थिए । दलालले पटक पटक नेपाल फर्काउने बाचा गरे पनि विभिन्न बाहानामा समय सार्दै गइरहेको थियो ।

@naya patrika