नेपाल पर्वतारोहण संघ (एनएमए) को यही २१ गते सम्पन्न निर्वाचनमा विपक्षी समूहले धाँधली गरी जितेको भन्दै जिम्बा जाङ्बु शेर्पा समूहले पुनः निर्वाचनको माग गरेको छ । निर्वाचनमा धाँधलीको सप्रमाण ‘सिसिटिभी’ को ‘फुटेज’सहित उक्त समूहले पत्रकार सम्मेलन गरी निर्वाचनकै आचारसंहिताको ठाडो उल्लंघन हुनगरी अवैध ढंगबाट नेतृत्व लिई संस्थाको छवि गिराउने काम भएको ठहर गरेको हो ।

पुनः निर्वाचन गर्न माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा निवेदन दिएको र प्रशासनबाट उचित निर्णय नआए कानूनी उपचारका लागि अदालत जाने जनाएको छ ।

अध्यक्षका प्रत्यासी शेर्पाले निर्वाचनमा दूषित मनसायबाट प्रेरित भई कुनै व्यक्ति समूह विशेषलाई जिताउने अभिप्रायबाट निर्वाचन गैरकानूनीरुपमा भएको पाइएकाले कानूनी उपचारका लागि प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

उहाँले निर्वाचनको मतदान चलिरहेका बेला संघको कार्यालय खोली फर्जी परिचयपत्र बनाएर मतदान गराउने कार्यमा संघकै कर्मचारी र अनुगमनका लागि खटिएका एक सरकारी अधिकारी पनि संलग्न भएको पाइएको बताउनुभयो । यद्यपि, ती कर्मचारीको नाम खुलाइएको छैन ।

पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको विवरणअनुसार संघका पूर्व कोषाध्यक्षसमेत रहनुभएका सचिवका प्रत्यासी टीकाराम गुरुङले उम्मेदवारको परिचयपत्रसहित मतदानका बेला दिउँसो २ बजेतिर संघको कार्यालय खोली नक्कली परिचयपत्र बनाई पैसासमेत दिएको पाइएको छ । त्यस कार्यमा संघका एक सहायक कर्मचारी पनि संलग्न रहेको देखिएको छ ।

निर्वाचनको भोलिपल्ट विपक्षी समूहले धाँधली गरेर परिणाम तलमाथि पारेको भन्ने आधारमा शेर्पा समूहले संघको ‘फुटेज’ माग गरी हेर्दा सचिवका उम्मेदवार टीकाराम गुरुङले संघका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारी गैरकानूनी तरिकाबाट गैरसदस्यको परिचयपत्र बनाई आफ्नो पक्षका लागि मतदान गर्न प्रयोग गरेको शेर्पा समूहको संयुक्त निर्वाचन समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शेर्पा समूहबाट महासचिवमा निर्वाचन कुलबहादुर गुरुङले निर्वाचनमा भएको गतिविधि दुःखद् भन्दै सम्बन्धित निकायले दिएको कानूनी निर्णय स्वीकार्य हुने बताउनुभयो ।

यता संघका नवनिर्वाचित अध्यक्ष सन्तवीर लामाले निर्वाचनमा बेहोरेको हारलाई सहन नसकेर शेर्पा समूहले अनर्गल प्रचार गरिरहेको र यसबारे सत्यतथ्य बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रतिक्रिया दिनुभयो ।