काठमाडाैं । नेपाल पदयात्रा पर्यटन (Trekking Tourism) को उद्गम थलो हो । सन १९६० को दशकमा सर एडमण्ड हिलारीले गरेको पदयात्रा भनौ वा त्यसपछि टोनी हेगनले दशकौंसम्म गरेको नेपालका रमणीय, दुर्गम, रोमाञ्चक पदयात्राहरुका कुरा गरौं, ति पदयात्राहरु विश्वमै चर्चित छन् जसले आजको पदयात्रा पर्यटन उद्मोग चलाउन मलजल गरेको छ ।

सन् १९९० को दशक नेपालमा पदयात्रा पर्यटनको लागि सुनौलो समय रह्यो । माओवादी जनयुद्धकालको एक दशक पनि पदयात्रामा त्यस्तो चिन्ताजनक गिरावट आएन । सरकारी स्तरबाट कुनै ठोस पहल नहुँदा पनि यो क्षेत्र फस्टाइरहेको छ । त्यसको मतलव के हो भने नेपाल पदयात्राको लागि उत्कृष्ट गन्तब्य राष्ट हो । विश्व भरीका अध्ययन अनुसन्धानहरुले पनि देखाएका छन् कि नेपाल विश्वका दश भाग्यमानी राष्ट मध्ये पर्छ जहाँ पदयात्रा पर्यटनका लागि प्रचुर सम्भावनाहरु छन् ।

नेपाल सरकारको कुनै सहयोग र लगानीबिना फस्टाएको उद्योग कुनै छ भने त्यो पदयात्रा पर्यटन हो । केवल निजी लगानीमा ब्यक्तिगत, निजी प्रयासबाट उठेको पदयात्रा पर्यटन उद्योगको अर्काे राम्रो पक्ष भनेको यो एकदम गरीबपमुखी उद्योग हो । धेरै कारणहरुले यसलाई गरीबमुखी उद्योग भन्न सकिन्छ ।

पदयात्राबाट सहयोगी पथप्रदर्शक (Guide), कुक, भरिया आदिले प्रत्यक्ष रोजगारी पाउँछन् ।
दुर्गम गरीब क्षेत्रसम्म पर्यटक पुग्ने हुनाले यसको ब्यापार संयन्त्र पनि सोही क्षेत्रसम्म फैलिन्छ । जसबाट स्थानीय उत्पादन, सरसामन, होटल ब्यवसाय आदिको ब्यापार हुन्छ ।
हिजोको ट्रेकिङ मजदुर काम सिकिसकेपछि २–४ लाखको लगानीमा आज आफै मालिक बन्न सक्ने सम्भावना हुन्छ ।
अहिलेको जिम्मेवार पर्यटनका अवधारणाले पदयात्री पर्यटकहरुलाई गरीबी र अशिक्षा उन्मुलन गर्न अग्रसर गराए बमोजिम देशका कतिपय ठाउँमा गरीबलाई प्रत्यक्ष फाइदा पुग्ने शिक्षा र विकासका कार्यहरु पनि भइरहेका छन् । यि विविध कारणहरुले यो उद्योगलाई गरीबमूखी (pro-poor industry) भन्न सकिन्छ ।

खास कुनै संस्थागत प्रचार प्रसार विना पनि ट्रेकिङ व्यवसायले पनि यतिका उपलब्धी हासिल गरेकोे छ । नेपालका मनमोहक, रमणीय क्षेत्रहरु, धार्मिक, प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक पर्यटकीय स्थलहरुको बारेमा विश्वभर आवश्यक प्रचार प्रसार गर्न सकेमा नेपालमा पर्यटकको आगमन अहिलेको भन्दा कैयौं गुणा बढी हुन सक्दछ । आजको ४५न्म्ए क्जबचभ लाई दोब्बर–तेब्बर पार्न धेरै समय कुर्नु पर्दैन । तर पदयात्रा पर्यटनमा मीठा आशा र सम्भावनाका वावजुद धेरै चुनौतीहरु छन् । प्रथमतः रमणीय पदयात्रा मार्गहरु आधुनिकताको नाममा ध्वस्त हुँदै छन् । अन्नपूर्ण सर्किट भनौं वा मनाङ, मुस्ताङ मोटरबाटो पुग्नाले पदयात्रा पर्यटक ब्यापारमा ठुलो असर परेको छ । १५–२० दिन खर्चने पर्यटक ३–४ दिनमा घुमेर आउन सक्ने भइसक्यो । मोटर बाटोको विरोधी म पक्कै हैन । तर टे«किङ व्यवसायको वास्तविक र तीतो यथार्थ हो । अन्य विकल्पहरु पर्ने आवश्यकता छ । डोल्पा, मनास्लु जस्ता आकर्षक क्षेत्रहरु प्दयात्रका लागि खोलिनुपर्छ र त्यस क्षेत्रमा पदयात्रका लागि आवश्यक पूर्वाधारहरु तयार गर्न सरकार समेत लाग्नु पर्छ । कुनै पनि क्षेत्रलाई निषेधित बनाइरख्दा यस क्षेत्रमा ठूलो घाटा ब्यहोर्नु पर्दछ ।

यस क्षेत्रको सुधारको लागि आवश्यक नीति नियम र राष्ट्रिय सुरक्षाका मापदण्डहरु तयार पार्नु पर्दछ । जुन सरकारको जिम्मेवारी अन्तर्गत पर्दछ । अन्यथा परम्परागत ढङ्गले निषेधित क्षेत्र बनाइरहनु भनेको नेपाल आउन चाहने पर्याटकलाई अन्यत्र पठाउनु हो ।

– टानको स्मारिका २०७० बाट साभार (लेखकः महेन्द्र सिंह थापा–अध्यक्ष)