विद्यालय र विश्वविद्यालयमा नेपालसम्बन्धी जुन इतिहास पढाइँदै आएको छ, त्यसमाथि केही इतिहासकारले धेरै पहिला नै प्रश्न उठाएका हुन् । ती प्रश्न सतहसम्म आउन नसक्दा बहस भने सिर्जना हुन सकेन । इतिहासमाथिका तिनै प्रश्नलाई अहिले बहसमा ल्याएका छन्, लेखक युग पाठकले । आफ्नो पुस्तक ‘माङ्गेना’मा उनले प्रश्न मात्र उठाएका छैनन्, उत्तर पनि खोजी गरेका छन् । यसलाई उनले नेपाल मन्थन भनेका छन् । तर, प्रकाशन नहुँदै उनको पुस्तक विवादमा पर्यो । सो पुस्तकको विषयवस्तुमा केन्द्रित भएर नयाँ पत्रिकाकर्मी प्रकाश गुरागाईंले पाठकसँग संवाद गरेका छन् ।

माङ्गेना सार्वजनिक नहुँदै यसको कभर विवादमा पर्यो । कभरमा राष्ट्रिय झन्डा किन च्यात्नुभयो ?
पहिलो कुरा, पुस्तकको कभरमा जे छ, त्यो राष्ट्रिय झन्डा होइन । राष्ट्रिय झन्डाको निश्चित आकार छ । कुनाहरू छन् । विशिष्ट रङहरू छन् । त्यो विशेषता कभरको चित्रमा छैन । दोस्रो कुरा, पुस्तकको कभर मैले बनाएको होइन । त्यो च्यात्ने–नच्यात्ने कुरा भन्दा पनि त्यो कला हो । झन्डाको थिमलाई प्रयोग गरिएको कला । यो कला सचिनयोगल श्रेष्ठको हो ।

कभरमा आउने भएपछि लेखकको सहमति वा असहमति त हुन्छ नि ?
सामान्यतया हुन्छ । मैले सहमति जनाएकै हो । तर, मुख्य कुरा जसले झन्डा च्यातेको आरोप लगाए, उनीहरूको मप्रति पूर्वाग्रह थियो । मैले अहिले चल्तीमा रहेको महिन्द्रीय राष्ट्रवादको विरोध गरेँ । त्यो राष्ट्रवाद अहिलेका कम्युनिस्ट पार्टीले पनि बोकेर हिँडेका छन् । तिनको पनि आलोचना गरेँ । यस्तो आलोचना मन नपराउनेले ‘यो झन्डा च्यात्ने नै मान्छे हो, च्यात्यो,’ भनेर पूर्वाग्रही आरोप लगाए । अर्को कुरा, यो कभरले पुस्तकको थिम बताउँछ । कभरको झन्डा भित्तामा बनाइएको चित्र हो । त्यो चित्र भूकम्प आउँदा चर्केको जस्तो देखिन्छ । त्यसको अर्थ पुरानो नेपाललाई हामीले जुन भाष्यअन्तर्गत चिन्थ्यौँ वा जुन गीत, कथा, इतिहासअनुसार चिन्थ्यौँ, त्यो भत्कँदै छ र नयाँ नेपालको अवधारणा बन्दै छ । एकथरीलाई मेरो पुस्तकको थिममा नै आपत्ति छ । त्यसैले उनीहरूले विवाद झिकेका हुन् ।

माङ्गेना लेख्नुपर्ने आवश्यकता किन पर्यो ?
पछिल्लो चार–पाँच वर्षदेखि मैले के महसुस गरेँ भने, हामीले आफूलाई र आफ्नो परिवेशलाई जुन रूपमा बुझेका छौँ, त्यो भ्रमपूर्ण छ । अलिक अध्ययन गर्दै गइयो, अलि बुझ्दै गइयो, त्यसले नयाँ तरिकाबाट सोच्न बाध्य हुन थालेँ । जस्तै, दोस्रो जनआन्दोलनपछि माओवादीका एजेन्डाले कथित मूलधारमा प्रवेश गरे । त्यसमा प्रमुख दुईवटा एजेन्डा थिए । राज्य पुनर्संरचनाको एजेन्डा र जातीय, भाषिक पहिचान संरक्षण तथा सीमान्तकृतलाई अधिकार दिने एजेन्डा । मूलधारमा प्रवेश पाएपछि यसले राजनीतिक रूपमा त राम्रै बहस सिर्जना ग¥यो । तर, बहस हुँदै गर्दा हाम्रो लिखित इतिहास र त्यसको अन्तर्वस्तुमा विडम्बना देखेँ । समाज राजनीतिक रूपले अर्कै ठाउँमा जाँदै छ, तर हामीलाई बुझाउने समाजका विशिष्ट तन्तुहरूचाहिँ उल्टो यात्रामा लागेजस्तो देखेँ । त्यसैले यो पुस्तक लेखेको हुँ ।

पुस्तकको सुरुवातमा नै पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको होइन, गोर्खा राज्य विस्तार गरेको तर्क गर्नुभएको छ । त्यो विस्तारचाहिँ ठीक थियो कि थिएन ?
इतिहासको घटनालाई ठीक थियो कि थिएन भनेर व्याख्या गर्न सकिँदैन । त्यो परिघटनाले कस्तो समाज निर्माण गर्दै यहाँसम्म लिएर आयो त भन्ने अध्ययन गर्न सकिन्छ । पृथ्वीनारायण शाहले एकीकरण गरेका हुन् वा राज्य विस्तार गरेका हुन् भन्नेबारे हाम्रा इतिहासकारकै भिन्न–भिन्न मत छन् । हामीलाई भने एकीकरण नै हो भनेर ठोकुवा गरेको इतिहास पढाइयो । त्यसलाई एकीकरण हो भनेर पढाउनुको पछाडि एउटा रहस्य छ । शाहवंशको महानता स्थापना गर्न इतिहासलाई बंग्याइएको थियो । राज्य विस्तारको वास्तविकता भने अर्कै छ । जब पृथ्वीनारायण शाह चन्द्रागिरिको डाँडामा उभिएर नेपाल उपत्यका हेरे, उनी लोभिए । उनले यहाँको महाराज हुने महत्वाकांक्षा गरे । त्यो महत्वाकांक्षा पूरा गर्न उनले निरन्तर २५ वर्ष लडाइँ लडे । लडाइँमै युद्धकला सिके । कैयौँ हारबाट पनि विचलित भएनन् । त्यसलाई प्रशंसा गर्न सकिन्छ । तर, आफ्नो राज्य ठूलो बनाउने क्रममा उनले के–के गरे र उनका क्रियाकलापले समाज कहाँ पु¥यायो भनेर मूल्यांकन गर्नुपर्छ । त्यो मूल्यांकन नै पृथ्वीनारायणप्रतिको सही मूल्यांकन हो । उनले जितेको ठीक थियो कि थिएन भनेर मूल्यांकन गरियो भने त्यो काल्पनिक हुन्छ । जितेको कुरा त जितेकै हो । तर, उनले एकताको सूत्रमा बाँध्ने काम भने गरेका होइनन्, न त उनको त्यो उद्देश्य नै थियो । भाषाका हिसाबले, संस्कृतिका हिसाबले पनि उनले त्यसो गरेका होइनन् । उनका दिव्योपदेशमा पनि एकीकरण गरेको र एकताको सूत्रमा बाँधेको उल्लेख छैन । एकीकरणको भाष्य शाहवंशको महानता स्थापित गर्न आएको हो । त्यो भाष्यको निर्माण २००७ सालपछि भएको हो ।

पृथ्वीनारायण शाहले गरेको एकीकरण होइन, राज्य विस्तार हो भन्ने तर्कमा तपाईं प्राचीन नेपाल विशाल थियो कि थिएन भन्नेसम्म पुग्नुभएको छ । प्राचीन नेपाल विशाल हुनु वा नहुनुको सम्बन्ध पृथ्वीनारायणसँग कसरी गाँसिन्छ ?
प्राचीन नेपाल विशाल थियो वा थिएन भन्ने पहिल्यैदेखि उठेको बहस हो । पुराना इतिहासकारहरू बाबुराम आचार्य, डिआर रेग्मी, जगदीश रेग्मीलगायत धेरैले प्राचीन नेपाल विशाल थियो भन्छन् । त्यसको भित्रको कथ्य केहो भने, ‘प्राचीन नेपाल विशाल थियो, बीचमा टुक्रा–टुक्रा भयो, त्यसलाई पृथ्वीनारायण शाहले एकताको सूत्रमा बाँधे ।’ यो तर्कलाई यसअघि नै कमलप्रकाश मल्ल, पारस प्रधानलगायतले आलोचना गरेका थिए । प्राचीनकालमा नेपाल थियो भन्ने मात्र पुष्टि हुन्छ । विशाल थियो–थिएन पुष्टि हुँदैन । बाबुराम आचार्य आफैँले पनि तथ्यहरूद्वारा नेपाल विशाल थियो भन्नेचाहिँ पुष्टि हुँदैन भनेका छन् । एकीकरणलाई पुष्टि गर्न गलत इतिहास लेखिएको हो । मेरो मान्यता भनेको कुनै राजामहाराजा, महाकवि, राष्ट्रकवि वा कसैको पनि महानता पुष्टि गर्न हाम्रो टाउकोमा चढाउन पाइँदैन । इतिहासलाई टाउकोमा चढाएर मान्छेलाई दास बनाउन पाइँदैन । सबैले स्वीकार गरेको छ कि यो नेपाल पृथ्वीनारायण शाह र उनका सेनाको युद्धबाट बनेको हो । तर, बनेको ठीक भयो कि भएन भन्दा थाहा छैन । नेपाल अझ राम्रो पो हुन्थ्यो कि वा नेपाल नै बन्दैन थियो कि !

तपाईं कम्युनिस्ट विचारधाराको मान्छे, भाग्यवादलाई ब्राह्मणहरूले संस्थागत गरे र त्यहीकारण विकास हुन सकेन भन्ने सन्दर्भ पुस्तकमा छ । तर, तपाईं आफैँले पनि मुन्धुमको एउटा कथालाई पुस्तकमा राख्नुभएको छ । जसमा सृष्टिकर्ता पोराक्मिबाले चराको सुलीबाट मान्छे बनाएको उल्लेख छ । त्यो कथा र ब्रह्माले खरानीबाट मान्छे बनाएको कथा उस्तै छ । किन फेरि अर्को भाग्यवादतिर छिर्नुभयो ?
यी दुई मिथकको अन्तर्वस्तु तात्विक रूपमा फरक छैनन् । यी मात्र होइनन्, प्रायः मिथकहरूमा उल्लेख भएका सृष्टिकर्ताका कथा फरक छैनन् । कुरान, बाइबलमा त्यस्तै तर्क छन् । तर, एउटा कुरा भने फरक छ । जुन मान्यताले धर्मको रूप लियो, त्यसका धेरै भाष्यहरू निर्माण भए । कथाहरू निर्माण भए । त्यसले शासनसत्तामा पनि प्रवेश पायो । त्यसकारण त्यसले फरक रूप धारण गर्यो । जस्तो, महाभारतसम्म आइपुग्दा महिलालाई हेर्ने दृष्टिकोण एउटा छ । त्यसमा द्रौपदीजस्ती पात्र छिन्, जो शक्तिशाली पाँच श्रीमान्की एउटै श्रीमती हुन् । अब रामायणमा आइपुग्दा महिलालाई हेर्ने दृष्टिकोण फरक भइसकेको छ । जहाँ सीता अग्निपरीक्षा दिन्छिन् । हिन्दू धर्म राज्यको धर्म हुँदै गएपछि मान्छेमाथि शासन गर्ने भयो । उता चर्चले पनि वैज्ञानिकदेखि शिक्षकसम्मलाई मारेको छ । शासकीय धर्ममा यस्तो हुन्छ । तर, मुन्धुम शासकीय धर्ममा प्रवेश गर्न पाएन । त्यसकारण मुन्धुममा भएका केही विषय स्वतन्त्र रूपमा समाजमा बाँचेर रहे । त्यो कथामा राम्रो मान्छे नबनेपछि पोराक्मिबाले मान्छेको मुखमा थुकिदिन्छ । त्यसो हुँदा मान्छेको शिर झुक्छ । उसको शिर उठाउन माङ्गेना गरिन्छ । त्यसको दार्शनिक अर्थ भनेको कोही मान्छेको पनि शिर झुक्नुहुँदैन भन्ने हो । त्यसकारण मुन्धुमको त्यो कथा भाग्यवादभन्दा धेरै फरक छ ।

अब भाषाको कुरा गरौँ । पृथ्वीनारायण शाहको राज्य विस्तारअघि नै सिञ्जा उपत्यकाबाट खस जाति पूर्वको किरात प्रदेशसम्म पुगेर भाषा फैलाए भन्नुभएको छ । खस जाति मात्र किरात प्रदेश पुग्न कसरी सम्भव भएछ ?
इतिहासकारहरूले जहाँसम्म खोजेर निकालेका छन्, मैले ती कुरा मात्र उल्लेख गरेको छु । सुरुमा नै भाषामा आधिपत्य जमाएको देखिँदैन । इतिहासकारका अनुसार राज्य विस्तार नहुँदै हाम्रा पहाडी भूभागमा गज्जबको बसाइँसराइको चक्र देखिन्छ । अहिले पनि नेपाली भुटान, भारत, म्यानमारलगायत ठाउँमा छन् । ती पुस्तौँअघि पनि गएका छन् । त्यही बसाइँसराइको चक्र मधेसमा पनि देखिन्छ । अहिले पो नेपाल–भारत सिमाना छुट्टिएको छ । पहिला थिएन । राणाकालसम्म आइपुग्दा पनि त्यही मान्छे खेतीका लागि कहिले बिहार, कहिले नेपालतिर आएको देखिन्छ । यस्तो बसाइँसराइ राज्य विस्तारको मिसनभन्दा फरक ढंगले भएको छ । यो नेपालमा मात्र नभएर विश्वभरि नै देखिन्छ ।

यसरी बसाइँसराइ गर्ने खस जाति मात्र कसरी भयो त ?
अरू पनि होलान् । तर, पृथ्वीनारायण शाहलाई सजिलो कसरी भयो त भन्ने सन्दर्भमा त्यो कुरा आएको हो । खस भाषीहरू किरातमा पहिल्यै पुगिसकेका थिए । तीमध्येका एक हरिनन्द उपाध्यायले पृथ्वीनारायणलाई आक्रमणको निम्तो नै दिएको देखिन्छ । तर, भाषाको आधिपत्य भने पुगेको देखिँदैन । भाषाको आधिपत्य त पञ्चायतकालमा व्यापक रूपमा गयो । त्यसभन्दा अघि नेपाली भाषाको विस्तारचाहिँ महाकवि लक्ष्मीप्रसाद देवकोटा शिक्षामन्त्री भएका वेलामा भयो । उनले विद्यालय खोलेर त्यहाँ नेपाली भाषालाई अनिवार्य गरेपछि अन्य भाषा छायामा परे ।

पछिल्लो कालखण्डमा भारतमा नेपाली भाषाको विकास भयो र नेपाल छि¥यो । नेपाली भाषालाई नेपालमा पहिला गोर्खा भाषा भन्थे, भारतमा नेपाली भाषा । हामीले पनि उतैको सिको गरेर नेपाली भाषा भन्यौँ । तर, अहिले दार्जिलिङमा गोर्खा भाषा नै भन्न थाले । यो चक्रचाहिँ के हो ?
हाम्रो मधेसमा बस्नेको समस्या र भारतको दार्जिलिङमा बस्ने नेपाली भाषीको समस्या एउटै हो । जसरी मधेसीलाई पहाडिया र काठमाडौंवासीले हेपेर भारतीय भन्छन्, दार्जिलिङेहरूलाई पनि ठ्याक्कै त्यही भयो ।

धेरैअघिदेखि त्यहाँ आफूलाई नेपाली जाति भन्ने कि गोर्खा जाति भन्ने बहस छ । अनि, नेपाली भाषा भन्ने कि गोर्खा भाषा भन्ने बहस छ । पहिला गोर्खा भाषा, खस कुरा, पर्वते भाषा भन्थे । धेरैवटा नामले समस्या भएपछि नेपाली भाषा भन्न थाले । त्यसपछि कलकत्ता विश्वविद्यालयमा नेपाली भाषाले प्रवेश पायो । उनीहरूले लामो समय भाषा आन्दोलन गरे । अहिले आएर बंगालीहरूले उनीहरूलाई नेपाली भएको आरोप लगाउँछन् । पहिचानको संकट आएपछि उनीहरूले गोर्खा भाषा भन्न थाले । यो संकट सीमान्तकृत जाति र भाषामाथि राज्यले खडा गरेको हो ।

नेपाली भाषा सम्पर्क भाषा छ । यहीकारण अन्य जातिका भाषा, संस्कृति ओझेलमा परे भनिन्छ । सम्पर्क भाषाचाहिँ कसरी निर्धारण हुनुपथ्र्यो ?
इतिहासले के भन्छ भने, सत्ताको बन्दुकले जनताको भाषा निर्धारण गर्न खोज्छ । यो कसैलाई ठीक लागोस् वा नलागोस्, त्यसले अर्थ राख्दैन । हामीले यसरी निर्धारण हुनुपथ्र्यो वा पर्छ भनेर हुँदो रहेनछ । संसारभर बन्दुकका बलले भाषाहरू पनि शक्तिशाली भएका छन् । जो शक्तिशाली भयो, उसको भाषा पनि शक्तिशाली भएको देखिन्छ । जस्तो भारतमा जहिलेसम्म मुगलहरू शक्तिशाली थिए, उर्दु भाषा शक्तिशाली भयो । जहिलेबाट अंग्रेजहरू आए, अंग्रेजी भाषा शक्तिशाली भयो । अहिले अंग्रेजी भाषाको प्रभाव विश्वभर किन छ भने इतिहासदेखि अंग्रेजहरू शक्तिशाली हुँदै आए । अंग्रेजले जहाँ शासन गरे, त्यहाँ भाषा पनि लिएर गए । हाम्रै देशमा पनि नेपाली भाषालाई राष्ट्रभाषा बनाइएकै हो । तर, अहिले सामुदायिक विद्यालयमा पनि अंग्रेजी भाषालाई माध्यम भाषा बनाउने क्रम सुरु भएको छ । नेपालमा पनि गोर्खालीहरू शक्तिशाली भएपछि गोर्खा भाषालाई माध्यम भाषा बनाउँदै गए ।

पुस्तकमा बौद्धिक र बौद्धिकताको चर्चा पनि गर्नुभएको छ । नेपालमा चाहिँ कस्ता मान्छेलाई बौद्धिक भनिँदो रहेछ ?
अहिले बौद्धिक र बुद्धिजीवी भनेको फरक हो भन्ने बहस उठेको छ । मैले त्यही बहसलाई निरन्तरता दिएको छु । बुद्धिजीवी भनेको बुद्धिले जीविका चलाउने भयो । बौद्धिक भनेको राज्यसत्ताको अंगमा बसेर काम गर्ने वा त्यसको विरुद्धमा लेखेर अभियान चलाउने हो । किताब, कविता वा अन्य कुनै पनि कुरा लेखेर चलिआएको सत्तालाई च्यालेन्ज गर्नेचाहिँ बौद्धिक हो । सत्ता धेरै प्रकारका छन् । राज्यसत्ता, धर्मसत्ता, पार्टीसत्तालगायतका सत्ताको विपक्षमा बौद्धिकहरूले मलजल गर्छन् । उनीहरूले समाजलाई अगाडि बढाउन लेखनको माध्यमबाट सक्रिय भूमिका खेल्छन् ।

पुस्तकमा तपाईंले तत्कालीन प्रधानमन्त्री केपी ओलीका भाषणलाई गफ भन्नुभएको छ । प्रचण्डले खुलामञ्चको भाषणमा माधव घिमिरेको गीत ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’ उल्लेख गरेको कुरालाई पनि आलोचना गर्नुभएको छ । तपाईंचाहिँ कस्तो प्रकारको बौद्धिक ?
कोसिस गरिरहेको छु कि मैले व्याख्या गरेको जस्तै बौद्धिक बन्न सकूँ । लामो समयदेखि राज्यले बनाएको भाष्य जान्न तपाईंलाई राष्ट्रवादको प्रभाव हेरे पुग्छ । नेपालको राष्ट्रवादले झन्डा चिन्छ, दौरासुरुवाल चिन्छ, ढाकाटोपी चिन्छ, तर मान्छे चिन्दैन । सगरमाथा चिन्छ, बुद्ध चिन्छ । बुद्धले भनेको दर्शन चिन्दैन, बुद्ध कहाँ जन्मेका थिए भन्ने नारा मात्र चिन्छ । पहाड, पर्वत, हिमाल चिन्छ । तर, आफ्नै नागरिक चिन्दैन । किसान, मजदुर चिन्दैन । खेतमा काम गरिरहेको किसानको दौरासुरुवाल हेर्छ । खेती किसानीको सीप बुझ्दैन । हाम्रो राष्ट्रवादले भारतको विरोध गर्न सिकाउँछ, आत्मनिर्भर हुन सिकाउँदैन । भारतको हस्तक्षेपको विरोध गर्नुपर्छ, तर आफूलाई उभ्याउन पनि प्रयास गर्नुपर्छ । राष्ट्रवादको भ्रम पञ्चायतले खडा गर्यो । अहिले एमाले, माओवादी, विप्लव नेतृत्वका कम्युनिस्ट पार्टीले पनि त्यही महेन्द्रले खडा गरेको राष्ट्रवाद बोकेर हिँडेका छन् । त्यसको आलोचना नगर्ने हो भने कसरी बौद्धिक होइन्छ ? त्यही सन्दर्भमा मैले केपी ओली र प्रचण्डको आलोचना गरेको हुँ ।

‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे ।’ यो वाक्य कसले लेखेको भनेर बिर्सने हो भने खराबी के छ ?
झट्ट हेर्दा यो वाक्यमा खराबी केही छैन । तर, भित्री आशय खतरनाक छ । यसले कसको पक्षपोषण गर्छ भन्ने स्पष्ट देखिन्छ । यो वाक्यले नेपाली सबै नेपाली छैनन् भन्दैन । अर्थात् हाम्रो राज्यसत्ताले बनाएको भाष्यमा मधेसी नेपाली होइन । नेपाली हुन हिमाल चाहिन्छ, दौरासुरुवाल लगाउनुपर्छ, ढाकाटोपी लगाउनुपर्छ । यो गीतको लाइनले तिनै पोसाक लगाऊ, नेपाली भाषा मात्र बोल भन्छ । यो गीत सत्य छेक्न बनाएको रेशमी रुमाल हो ।

तपाईंको पुस्तकमा धेरै विषय समेटिएको छ । माथिका प्रश्नले पनि त्यो देखाउँछ । यस्तो खिचडी पुस्तक किन लेख्नुभयो ?
यो खिचडी नै लेखेको हुँ । पछिल्लो पाँच वर्षमा जसरी मैले आफूलाई वैकल्पिक तरिकाले सोच्ने बनाउँदै लगेँ, त्यसपछि मैले गरेको चिन्तन, अध्ययनमा भेट्टाएका तथ्यलाई एक ठाउँमा समेट्न खोजेँ । अब मान्छेलगायत राजनीति, साहित्य, मिडिया, भाषा, संस्कृति, समाज, विकास सबैको शिर उठाउनुपर्छ भनेर माङ्गेना नाम राखेँ ।

साभार : नयाँ पत्रिका दैनिक