१४ असार, घोराही । दाङको तुलसीपुरस्थित एक मतदान केन्द्र नजिकै बम विष्फोट भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ अन्तरगत अम्बास मतदान केन्द्रको एक सय मिटर नजिकै विष्फोट भएको हो ।विष्फोट पछि केहीबेर मतदान रोकिए पनि अहिले निर्वाधरुपमा मतदान चलिरहेको छ ।विष्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ । बिहान करिब साढे ९ बजेतिर बम विष्फोट भएपछि ठूलो आवाज सुनिएको थियो भने धुवाँको मुस्लो देखिएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।घोराही उपमहानगरपालिका-१० गिठेपानीमा पनि बिष्फोटक पदार्थ भेटिएको सूचना पाएपछि सुरक्षाकर्रमीको टाेली त्यसतर्फ गएको छ ।यसैबीच सवारी सञ्चालन अनुपत्र बिनै चलाइएका ६५ बढी सवारी साधनलाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले घोराहीबाट एउटा कार, ४८ मोटरसाइकल र १५ रिक्सालाई नियन्त्रणमा लिएको हो ।