सोलखुम्बु , २२ जेठ । संघीय समाजवादी फोरम, नेपाल अन्तरगत सोलखुम्बु जिल्ला समितिले चुनाबी अभियान तीव्र बनाएसंगै एमालेका नेता कार्यकर्ता धमाधम पार्टी परित्याग गर्न थालेका छन् ।
पार्टी केन्द्रीय समितिका सदस्य जुद्ध ढाक्रेको प्रमुख आतिथ्यता र शेर्पा प्रदेश समितिका अध्यक्ष लाक्पा शेर्पाको विशेष आतिथ्यतामा सोमबार सम्पन्न पार्टी प्रबेश कार्यक्रममा एमालेका जिल्ला सदस्य आङनिमा शेर्पालगायत स्थानीय स्तरमा प्रभावशाली मानिने एमाले नेताहरु भक्तबहादुर गुरुङ, नरबहादुर गुरुङ सोनाम शेर्पा, दोर्की शेर्पा गरि १० जना ससफो, नेपाल प्रबेश गरेका छन् ।
एमाले पहिचान बिरोधी पार्टी भएको र यसले देशलाई निकास दिन नसक्ने भन्दै उनिहरुले पार्टी परित्याग गरेको पार्टी जिल्ला अध्यक्ष नरेन्द्र थापा मगरले जानकारी गराए ।
सोलुदूधकण्डमा उम्मेदवारी घोषणा
त्यस्तै स्थानीय तहको दोश्रो चरणको निर्वाचनको लागि जिल्लामा चनाबी प्रचारप्रसार, घरदैलोका साथै उम्मेदवारी चयन कार्य पनि अगाडि बढाइएकाे  छ।
जिल्लाको सोलुदूधकण्ड नगरपालिकाका विभिन्न वडामा उम्मेदवारी घोषणा गरिएको छ। वडा नम्बर ८ मा आङनिमा शेर्पाको अध्यक्षता रहने गरि उम्मेदवारी चयन गरिएको छ भने सोही नगरपालिकाको ९ नम्बर गोराखानीमा तेण्डी शेर्पा र वडा नम्बर १० टाप्टीङमा धर्म मगरको अध्यक्ष रहेको प्यानल चयन गरिएको छ।

Source:khirat post