१३ जेठ, पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणको चुनावमा पनि आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरे । साथै स्थानीयसँगै प्रदेश र केन्द्रको चुनावमा बहुमत ल्याएर एमाले सरकारको नेतृत्व गर्ने उनको दाबी छ । पोखरा लेखनाथ महानगरसहित चार स्थानीय तहमा जित हात पारेपछि आयोजित विजयोत्सव आमसभालाई सम्बोधन गर्दै ओलीले ओलीले ‘एमाले तराईमा छैन’ भन्नेहरुले दोश्रो चरणको चुनावको नतिजा आएपछि थाहा पाउने चेतावनी दिए । दोश्रो चरणको चुनावमा पनि एमालेले बहुमत ल्याएर देशैभरको पहिलो पार्टी बन्ने उनको दाबी छ । एमालेमा लहर आएका कारण त्यसलाई रोक्न अन्य दलहरु लागेको बताउँदै उनले भने, ‘बलिया पार्टी, सरकारवादी पार्टी मिलेर आउँदा पनि एमालेलाई हराउन सकेनन् र सक्दैनन् । यदि मिलेर नआउने हो भने उनीहरुको सर्वनाश हुन्छ ।’ एमालेलाई रोक्न अन्य दलहरुले विभिन्न हतकण्डा अप्नाइरहेको बताउँदै उनले भने, ‘तीन तासेले तास फिटे झैं कुरा फिटेर जनता भ्रमित पार्ने प्रयास नगरे हुन्छ ।’ राष्ट्रिय जनता पार्टीलाई अघि सारेर दोस्रो चरणको निर्वाचन पर सार्ने प्रयास भइरहेको उनले बताए । चुनाव सार्ने प्रयास चुनावै नगर्ने षडयन्त्र भएको उनको विश्लेषण छ । छुकछुके होइन, सुलुलु चल्ने रेल आउँछ पोखराको विजयोत्सव आमसभालाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफूले नेपालमा रेल गुडाउँछु भन्दा हाँसेर उडाएको सम्झए । आफूले बोलेका कुरा केही वर्षभित्रै पूरा हुने भन्दै उनले भने, ‘रेल गुडाउँछौं भन्दा हाँस्नेहरुलाई हामी भन्न चाहन्छौं, अबको केही वर्षभित्रै छुकछुक हैन सुलुलु जाने रेल चल्छ, उहिलेका रेल छुकछुक गर्थे तर, अहिलेका रेल सुलुलु चल्छ ।’ समय आएपछि एमाले आफैँ सरकारमा जान्छ एमाले अध्यक्ष ओलीले आफ्नो पार्टी अब बहुमत ल्याएर मात्र सरकारमा जाने बताएका छन् । यद्यपि दलहरुबीच सहमतिको आवश्यक रहेको उनको भनाइ छ । संविधान कार्यान्वयन र दोश्रो चरणको निर्वाचन सम्पन्न गर्न दलहरुबीच सहमति आवश्यक रहेको बताए । प्रधानमन्त्रीको राजीनामातर्फ संकेत गर्दै उनले भने, ‘तर खै किन हो, सरकारले झोला फ्याँकेर कता हिंडेको हो थाहा छैन ।’ ‘छाड्ने र जाने हतार किन भएको हो ?’ प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवातर्फ इंगित गदर्ैै उनले भने, ‘दोश्रो चरणको चुनाव सकेर छाडेको भए हुन्थ्यो, खै किन हो हतार गरेर छाडेको, अनि कल्लाई हतार भएको हो सरकारमा जान ? हतारै भएपनि २० दिन कुरेको भएपनि हुन्थ्यो नि त ।’ एमाले समय आएपछि आफैं सरकारमा जाने भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘एमाले अहिले सरकारमा जाँदैन, जस्केला सस्केलाबाट सरकारमा जाने एमाले होइन ।’ ओलीले एमालेले भ्रष्टाचारमुक्त नेपाल बनाउने उद्घोष गरे । पोखराका मेयर र उपमेयरले सम्बोधन गर्ने क्रममा भनेका कुरालाई बुढी औंलाले ठीक हो भनेर समर्थन गर्दै उनले भने, ‘हाम्रा प्रतिनिधिले पोखरालाई भ्रष्टाचार मुक्त बनाउँछौ भनेका छन्, एकदम ठीक । एमालेले भ्रष्टाचारमुक्त पोखरा, भ्रष्टाचारमुक्त कास्की, भ्रष्टाचारमुक्त प्रदेश नम्बर ४ र भ्रष्टाचारमुक्त नेपाल बनाउँछ ।’ साथै उनले पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय बिमानस्थल २/३ वर्ष भित्रै बन्ने दाबी समेत गरे ।