जेष्ठ ११ काठमाडौं । आम नागरिकले आफ्नो प्रतिनिधी आफै चयन गर्न पाउने अधिकारलाई सदुपयोग गर्न दशकपछि स्थानीय निकायको निर्वाचन हुँदैछ । पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भइसकेको र संविधान संशोधनबाट केहीमात्रमा भएपनि आम आदिवासी, जनजाति, मधेशी, शिल्पी, अल्पसंख्याक तथा लोपोन्मूख बर्गको अधिकार निश्चित भएको अनुभूत भई हामी चुनावी महोलमा सामेल भएका छौं । संविधान लामो संघर्षबाट जारी भएपनि त्यसभित्र विगतमा जस्तै एकात्मक राज्य सत्ता सञ्चालन शैली कायमै रहेको अवस्थामा ‘चुनाव र सडक’ आन्दोलनसँगैसँगै अघि बढाउने र चुनावी मैदानबाटपनि अधिकार प्राप्तिका लागि संघर्ष जारी राख्ने नीति अनुरुप हामी स्थानीय निकायको निर्वाचनमा सरिक भइरहेको छौं । उत्पीडित वर्गको संघर्षबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्नका लागिपनि निर्वाचनमा सहभागि हुनु हाम्रो दायित्व हुन आउँछ ।

लामो समय स्थानीय निकायमा जनप्रतिनिधी विहिन रहँदा अपेक्षित विकास र प्रतिफल प्राप्त हुन नसकिरहेको अवस्थामा हुन लागेको स्थानीय निर्वाचनमा हामी सबैको सक्रिय सहभागि र भूमिका महत्वपूर्ण हुन्छ । नयाँ संविधान जारी भई मुलुक संघात्मक ढाँचाबाट अघि बढीरहेकाले स्थानीय निकायको निर्वाचन थप अर्थपूर्ण र महत्व छ ।
‘चुनाव र सडक’ बाट अधिकार प्राप्तिका लागि आन्दोलन अघि बढाउन स्थानीय निकायको निर्वाचन २०७४ लाई सफल पार्न सम्पूर्ण आम जनसमुदायमा हार्दिक अपिल गर्दै सिद्धीचरण नगरपालिका वडा नं. ६ मा संघीय समाजवादी फोरम–नेपालको तर्फबाट वडा अध्यक्षको उम्मेदवारको रुपम म कर्मा शेर्र्पा यहाँहरुमाझ प्रस्तुत भएको छु । यस सन्दर्भमा हाम्रो निम्न प्रतिबद्धतालाई साकार पार्न अमूल्य मत दिई सहयोग गर्नु हुन आम समुदायमा हार्दिक आह्वान गर्दछौं
को हुन कर्मा शेर्पा ?
२०४७ सालमा जन्तरखानी–९,ल्वाखर्कमा जन्मिएका कर्मा शेर्पा पेशाले कलाकार हुन् । कलाकारिताको माध्यमबाट शेर्पा समुदायको भाषा, संस्कार, संस्कृती संरक्षण र विकासका खातिर दत्तचित्त भएर लागि परेका शेर्पाले कलाकारिताकै माध्यमबाट समुदायलाई चिनाइरहेका छन् । समाजसेवामा तिव्र रुची भएका शेर्पा शेर्पा पत्रकार संघ नेपालको संस्थापक सचिव, शेर्पा फिल्मस् प्रालीका प्रबन्ध निर्देशक र शेर्पाखबरडटकमका निर्देशक हुन । उच्च शिक्षा हासिल गरेका शेर्पा विकासमा युवा सहभागिता खोज्नछन् । सवैसँग मिलेर अघि बढ्न सक्ने क्षमता भएका शेर्पा ग्रामिण विकासमा दख्खल राख्छन् । पर्यटन प्रबद्र्धन गर्दै रोजगारीका अवसरहरु प्रदान गर्न सक्ने मार्ग चित्र कोरेका शेर्पा पर्यटन प्रबद्र्धन, कृषिमा आधुनिकीकरण, स्थानीय स्रोत परिचालन गरी जीविकोपार्जन र जीवनोस्तर उकास्न समेत योजना बनाई लागू गर्न लागि परेका छन् । युवाहरुले चाहेमा परिवर्तनका लागि समय नलाग्ने दृढ संकल्प सहित अघि बढेका शेर्पाले जन्तरखानीको मुहार परिवर्तन ल्याउन उल्लेख्य भूमिका निर्वाह गर्न सक्छ । उनले हाम्रै पालामा समृद्धी, रुपान्तरण र अधिकार सम्पन्न हुने सपना देखेका छन्, बोकेका छन् । यसलाई साकार पर्नु हामी सवैको दायित्व हुन आउँछ ।
सद्धीचरण नगरपालिका वडा नं. ६ मा तपांइको उम्मेदवारी किन ?
भौगोलिक विकटता, आर्थिक उपार्जनका लागि कृषिमा निर्भर रहनु पर्ने, शिक्षा, स्वास्थ्य, यातायातको क्षेत्रमा अत्यन्तै पछाडी परेको सद्धीचरण नगरपालिका वडा नं. ६ साविक जन्तरखानी गाविसलाई छोटो समयमै नमुना वडाको रुपमा विकास गर्दै सुविधा सम्पन्न गर्न देहाय बमोजिमको कार्यक्रम तथा परियोजनाहरु सञ्चालन गर्न प्रतिबद्धता व्यक्त गर्दछौं ।
सडकमा तपाईको योजन के छ ?
१. सिद्धीचरण राजमार्ग (ओखलढुंगा–सोलुखुम्बु) खण्डको ठाडे हुँदै फलाटेबजार–नलिडाँडा हुँदै पात्ले जोड्ने सडकलाई तत्काल विस्तार गर्ने ।
२. सिद्धीचरण राजमार्ग (ओखलढुंगा–सोलुखुम्बु) खण्डको ठाडे हुँदै साविकको गाविसको कार्यालय जोड्ने गरी अघि बढेको सडकलाई तत्काल सम्पन्न गर्ने ।
३. सिँगानेबाट ओखरबोट, बाख्रेबाट अघि बढेको सडकको स्तरोन्नती र स्तरीकरणका लागि आवश्यक बजेटको व्यवस्था गर्ने ।
४. बाख्रे, माझखर्क, ड्याम्के लगायतको ठाउँमा सडक सञ्जाल विस्तार गर्ने ।
५. गाविससम्म निर्माण अघि बढाइएको सडकको स्तरोन्नती (ग्रावेल, सोलिङ) का लागि राष्ट्रियस्तरमा पहल गर्ने ।
६. साविक जन्तरखानी ९ को राँगेल, दम्मरसम्म सडक विस्तार गर्ने । पात्ले १ को टुक्सिन्दोक र टाप्टिङ ४ ढिकुरेबाट राँगेल–नलिडाँडा सडक सञ्जाल जोड्ने ।
विद्युतमा तपाईको योजन के छ ?
१. सोलु खोला कडिडोर–भारत आयोजनाालाई प्रभावित क्षेत्र (जन्तरखानी गाविस) भित्र वितरण र शेयर लगानीका लागि वातावरण निर्माण गर्ने ।
२. साविक गाविसको सम्पूर्ण क्षेत्रलाई लक्षित गर्दै बाँझे खोलाबाट ४० किलोवाट क्षमताको लघु जलविद्युत उत्पादन सम्वन्धी महत्वकांक्षी योजना अघि बढाउने ।
३. पेल्ट्रीकसेटहरुलाई विस्थापित गरी कम्तीमा १० किलोवाट क्षमताको लघु जलविद्युत निर्माणका लागि प्रक्रिया अघि बढाउने ।
५. टोलटोलमा विद्युतबाट सञ्चालन हुने पिसानी र आवश्यकता अनुसार कुटानी मिल निर्माण गर्ने ।
६. केन्द्रीय प्रसारण लाईन विस्तारका लागि पहल गर्ने ।
शिक्षाको क्षेत्रमा तपाईको योजन के छ ?
१. वडा भित्र सञ्चालित २ वटा मावि (नवज्योती र जन्तरखानी) मध्ये एकलाई उच्च मावि र एकलाई प्राविधिक शिक्षा कक्षा सञ्चालनका लागि तत्काल प्रक्रिया अघि बढाउने ।
२. आधारभूत विद्यालयहरुलाई कम्तीमा कक्षा ८ सम्म सञ्चालनका लागि व्यवस्था मिलाउने ।
३. रिक्त दरवन्दी पूर्ति र काज फिर्ता गरी नियमित पठनपाठनको व्यवस्था मिलाउने ।
४ विद्यालय पोषाक, छात्रावृत्ति, झोला, स्टेशनरी लगायत वितरण गरी विद्यार्थी संख्या र टिकाउ दर बढाउने ।
५. सम्पूर्ण विद्यालयहरुमा सुविधा सम्पन्न भौतिक पूर्वाधार, खानेपानी, विद्युत, पुस्ताकालय, कम्प्युटर र इन्टरनेटको समेत व्यवस्था गर्न गुरु योजना बनाई  प्रक्रिया अघि बढाउने ।
 स्वास्थ्यको क्षेत्रमा तपाईको योजन के छ ?
१. वडाको मध्यभागमा शैय्या (वेड) सहितको सुविधा सम्पन्न अस्पताल स्थापना गर्ने ।
२. हाल सञ्चालनमा रहेको स्वास्थ्य चौकीलाई आधुनिक प्रविधि र भौतिक पूर्वाधारले सम्पन्न गर्न कार्य अघि बढाउने ।
३. साविक जन्तरखानी १ फलाटेमा सञ्चालित मेडिकललाई पुनःस्थापनाका लागि पहल गर्ने ।
४. गाउँघर क्लिनिकको स्तरोन्नती, जनशक्ति र पूर्वाधारको व्यवस्था गर्ने ।
५. एम्बुलेन्स खरिद गरी सञ्चालन गर्ने । महिला स्वस्थ्य स्वयम्सेवकको सुविधा वृद्धि र समय सापेक्षा विकासका लागि पहल गर्ने । आमा र शिशुस्वास्थ्य कार्यक्रम बनाइर्् लागू गराउने ।
आयआर्जन र रोजगारीमा  तपाईको योजन के छ ?
१. स्थानीय स्रोतको अधिकत् प्रयोग गरी आयआर्जनका लागि मार्ग प्रशस्त गरिने छ । जस अन्तर्गत ‘प्रत्येक घर–एक रोजगार र टोलटोलमा एक  उत्पादन’ कार्यक्रम लागू गरिनेछ ।
२. निर्वाहमूखि कृषि प्रणालीलाई  विस्थापित गर्दै आधुनिक व्यवसायी कृषि प्रणाली लागू गरी आयआर्जन बृद्धि गर्ने ।
३. स्थानीय स्रोतको प्रयोग गरी घरेलु, साना र लघु उद्योगहरु सञ्चालन गरी रोजगारीको अवसर सिर्जना गर्ने । जस अन्तर्गत अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजनाहरु बनाई तत्काल लागू गर्ने ।
कृषि, वन र वातावरणमा क्षेत्रमा तपाईको योजन के छ ?
१. सखरेमा अखबरे खुर्सानीलाई व्यवसायीक खेतीको रुपमा अघि बढाउन अनुदान र तालिम लगायतको व्यवस्था गर्ने ।
२. जन्तरखानी १ मा स्थापित आलू चिस्यान केन्द्रलाई सुविधा सम्पन्न बनाई सञ्चालनमा ल्याउने र विउ विजन संकलन केन्द्र स्थापना गर्ने ।
३. व्यवसायीक तरकारी खेती र नगदेबालीको संभव्य अध्ययन गरी कार्य अघि बढाउने ।
४. दलित वस्तीमा व्यवसायीक कृषि उपजका लागि दीर्घकालिन योजना बनाई लागू गर्ने ।
५. जन्तरखानी ९ मा जटीबुटी प्रशोधन तथा स्रोत सर्भेक्षण, नमुना स्रोत केन्द्र स्थापना गर्ने ।
६. सामुदायिक वनमा सदस्य हुन नपाएका उपभोक्तालाई समूहमा आबद्ध गराउन विशेष कार्यक्रम लागू गर्ने । सामुदायिक वनहरुमा वृक्षारोपन, सफाई, वनसँग सम्वन्धीत् योजना र कार्यक्रम बनाई लागू गर्ने ।
७. ‘हरियाली गाउँ–स्वास्थ समाज कार्यक्रम’ अन्तर्गत साविक वडा नं. ६ मा बहुउपयोगी विरुवा उत्पादन (नर्सरी) को व्यवस्था गरी खाली जग्गाहरुमा वृक्षारोपनका लागि निःशुल्क उपलब्ध गराउने ।
८. जटीबुटी खेतीका लागि विउ तथा विरुवा उपलब्ध गराउने र कृषकलाई अनुदानको व्यवस्था गराउने ।
९. वन क्षेत्रमा खेरा गईरहेका काठ र गैह्रकाष्ठ वन पैदावारको समुचित व्यवस्थापन गरी अर्थोपार्जन गर्ने । वनको हैसियत बृद्धिका लागि कार्य गर्ने ।
१०. टोलटोलमा कृषक समूह र गाउँमा कृषि शहकारी गठन गरी कृषकहरुलाई अनुदान, अधिकतम् सहुलियतको व्यवस्था मिलाउने ।
११. मगर समुदायको जीवनोस्तर उकास्न बँगुर तथा कुखुरा पालन कार्यक्रम लागू गरिनेछ ।
१२. करारमा रहेका जेटिएलाई स्थायी दरवन्दी कायम गर्ने ।
 खानेपानी र सिँचाईमा क्षेत्रमा तपाईको योजन के छ ?
१. नवज्योति मावि फलाटे, माथिल्लो र तल्लो मैदानेलाई भुजापाते मुहान गरी दिगो खानेपानीको व्यवस्था गर्ने ।
२. स्थानीय अवश्यकता र स्थानीयको माग अनुसार स्रोत (मुहान) पहिचान गरी छुटेका घरधुरीलाई खानेपानीको व्यवस्था गर्ने ।
३. पुराना खानेपानीको मर्मत गरी नियमित खानेपानी आपूर्तिका लागि व्यवस्था मिलाउने ।
४. संभाव्य क्षेत्रको अध्ययन गरी आधुनिक सिँचाईको व्यवस्था मिलाउने । जस अन्तर्गत खोल्सीहरुको पानी संकलन गर्ने, थोपा सिँचाई लागू गर्ने, सिंचाई नहरको रुपमा पोलिथिन पाइपको व्यवस्था गर्ने ।
 भौतिक पूर्वाधार विकास र भूमि व्यवस्थापनमा क्षेत्रमा तपाईको योजन के छ ?
१. साविकका गोरेटो बाटोहरुको स्तरोन्नती गरी न्यूनतम ३ मिटर चौडा गरी ढुंगा सिँडी तथा सोलिङ गर्ने ।
२. बर्षातको समयमा बढ्ने खोला तथा खोल्सीहरुमा समुदायको माग र आवश्यकता अनुसार काठेपुलहरुको निर्माण गर्ने ।
३. साविकका वडाहरुमा सामुदायिक भवनहरु निर्माण र भएकाहरुको स्तरोन्नती गर्ने । मध्यभागमा नमुना सामुदायिक भवन निर्माण गर्ने ।
४. खरी ढुंगा र तामा खानीको संरक्षण र उत्खनन गरी आर्थिक स्तर बढाउनका लागि विशेष कार्यक्रम लागू गर्न पूर्वाधारको विकास गर्ने ।
५. नागरिक सचेतना केन्द्रको गर्न बजेट व्यवस्था गर्ने ।
६. चिराइतो खेती प्रशोधनका लागि आवश्यक पूर्वाधारको विकास गर्ने ।
७. सार्वजनिक शौचालयहरु निर्माण गर्ने ।
८. खाली पाखा जग्गाहरुमा नगदे र जटीबुटी खेती विस्तार गरी सदुपयोगमा ल्याइने छ ।
९.खेती योग्य जग्गाहरुलाई थप व्यवस्थापन र उब्जनीका लागि आवश्यक मलखाद लगायतको व्यवस्था गरी एक बर्षिय तथा बहुबर्षिय खेती गरी प्रयोगमा ल्याउन कार्यक्रम बनाई लागू गरिनेछ ।
१०. तत्कालिन भूमि सुधार ऐन, नियमानुसार नापी दर्ता कायम भई हाल व्यवस्था परिवर्तनसँगै हदवन्दी र अन्य कारणले रोक्का भई कारोवार, चलन गर्न रोकिएका जग्गाहरुको सम्वन्धमा रोक्का फुकुवा सम्वन्धी प्रक्रिया अघि बढाई नीतिगत समस्या समाधानका लागि पहल गरीनेछ ।
११. वडाको सडक पहुँच नभएका दुई स्थानमा हेलिप्याड निर्माण गरिने छ ।
 पर्यटन र सञ्चार क्षेत्रमा तपाईको योजन के छ ?
१. फलाटेलाई केन्द्र बनाई विभिन्न पर्यटकीय पथमार्ग र पर्यटन सूचना केन्द्र स्थापना गर्ने ।
२. तामाखानी क्षेत्रको प्रबद्र्धन र विकासलागि महोत्सव र प्रचारात्मक कार्यक्रमहरु सञ्चालन गर्ने ।
३. तोलु गुम्बालाई पर्यटकीय आकर्षणको केन्द्रको रुपमा विकास गर्न भौतिक पूर्वाधारको व्यवस्था गर्ने ।
४. ठाडेबजार–ढाप हुँदै पिके पथमार्गको विकास गर्ने ।
५. फलाटे–नलिडाँडा–दम्मर होमस्टेको व्यवस्था गर्ने ।
६. टेलिफोन टाबरको स्थापना गरी ‘थ्री जि’ इन्टरनेट समेतको व्यवस्थासहित आधुनिक सञ्चारमा जोड्ने ।
७. चोक तथा चौतारीहरुमा फोहोर संकलन तथा व्यवस्थापनका लागि आवश्यक व्यवस्था गरिनेछ ।
धार्मिक संस्था र संस्कृती सम्बद्र्धनमा क्षेत्रमा तपाईको योजन के छ ?
१. वडा भित्र रहेका सम्पूर्ण जातजातिको धार्मिक कार्यक्रम सञ्चालनका लागि आवश्यक भवन तथा पूर्वाधारको व्यवस्था गर्ने ।
२. गुम्बा, मन्दिर, बौद्ध, माने, चैत्यहरुको मर्मत र पुनःनिर्माण गर्ने । वडाको मध्यभागमा सुविधा सम्पन्न आधुनिक गुम्बा निर्माण गरिनेछ ।
३. ठाडेबजारमा एक भ्यू टावारको निर्माण गरिने छ ।
४. आर्यघाटहरुलाई सुविधा यूक्त बनाउने । जस अन्तर्गत मलामी विश्रमालय, पानी, सुरक्षित शब दहनशाला निर्माण गर्ने ।
४. मगर जातीको परम्परागत संस्कृती विकासका लागि नमुना कार्यक्रम बनाई लागू गराउने ।
५. प्रत्येक जातिको संस्कृतीक विकास र संस्कार निरन्तरताको लागि भेषभूषा, सामाग्री, पाठशालाहरु, भाषा कक्षाहरु व्यवस्था गर्ने ।
युवा तथा खेलकूदको क्षेत्रमा तपांईको योजन के छ ?
१. बेरोजगार युवाहरुलाई विभिन्न तालिमहरु सञ्चालन गरी आयआर्जनका मार्ग पहिल्याउन सघाउ गर्ने खाले कार्यक्रम सञ्चालन गर्ने ।
२. विभिन्न तह उत्तीर्ण गरेका तर रोजगारीका अवसर नपाएका युवाहरुलाई प्राविधिक शिक्षा अध्ययनका लागि व्यवस्था मिलाउने । र, स्थानीय स्तरमा रोजगारीका अवस्थाहरु सिर्जना गराई अवसर दिने ।
३. युवाहरुलाई विभिन्न उद्योगहरु सञ्चालनका लागि सहुलियतमा ऋण तथा अनुदानको व्यवस्था गर्ने ।
४. प्रत्येक विद्यालयहरुमा खेल मैदानको निर्माण गर्ने ।
५. प्रत्येक गाउँ (साविकको वडा) मा खेल मैदान निर्माण गर्ने । वडा भित्रको सवैलाई पायक पर्ने स्थानमा फुटबल मैदान निर्माण गर्ने ।
६. नियमित खेलकूद गतिविधि सञ्चालन, तालिम आयोजना र खेलकूद प्रतियोगिताहरुमा प्रतिभावन खेलाडीहरु छनौट गरी सहभागि गराउने ।
७. वडा खेलकूद समिति गठन गरी सक्रिया बनाउने, कर्वाड हल निर्माण प्रक्रिया अघि बढाउने ।
८. संस्थागत विकास र मानव शंसाधनसँग सम्वन्धीत कार्यक्रमहरु सञ्चालन गरी युवालाई अवसर दिने ।
९. युवा मैत्री कार्यक्रमहरु अन्तर्गत ‘समुदायमा युवा’ परियोजना लागू गराउने ।
अन्य (विशेष क्षेत्र तथा कार्यक्रमको लागि  तपाईको योजन के छ ?
१. साक्षर समुदायलाई निरन्तर शिक्षा र खुल्ला विद्यालयको व्यवस्था गरी पठनपाठन गर्ने व्यवस्था मिलाइने छ ।
२. २०७२ को भूकम्पका पीडितहरुको सन्दर्भमा मापदण्ड बन्नु पूर्व निर्माण भएका र कतिपय न्यूनतम मापदण्डको दायर भित्र निर्माण भएका घरहरुले समेत अनुदान पाउने व्यवस्था मिलाइने छ । जसको लागि निर्वाचित सदस्यको संयोजकत्वमा एक प्राविधि समिति गठन गरी तत्काल कार्य थालनी गरिने छ ।
३. प्रहरी चौकी ठाडेलाई स्थायी गरी जनशक्ति बृद्धि गरिनेछ ।
४. विपद् व्यवस्थापन तयारी तथा नीतिहरु बनाई साझेदारीमा लागू गरिनेछ । जोखिमपूर्ण खोलामा पहिरो नियन्त्रण गर्न कार्य अघि बढाइनेछ ।
५. भूमिहिन तथा भूमि अधिकारबाट बञ्चित घरपरिवार (सुकुम्बासी) लाई सरकारी ऐलेनी तथा सामुदायिक वन क्षेत्रको खुल्ला खेती योग्य जग्गाहरु उपलब्ध गराई धनीपूर्जा समेत उपलब्ध गराउने छ ।
६. भूमिमा महिलाको अधिकार स्थापित गर्न श्रीमान–श्रीमतीको नामबाट धनीपूर्जा बनाउने अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।
७. दलित समुदायको परम्परागत पेशालाई आधुनिकीकरण गर्न आवश्यक उपकरण तथा अनुदानको व्यवस्था गरिनेछ । परम्परागत पेशालाई थप पारिस्कृत गरी व्यवसायीक बनाउन नीति बनाई लागू गर्ने छ ।
८. भू–उपयोगीताको आधारमा पहिरोको जोखिम, खानेपानीको अभाव र अन्य न्यूनतम सुविधा नभएका ठाउँहरुको वस्तीलाई स्थान्तरण गरी नमुना वस्तीको विकास गर्ने छ ।
९. संभाव्य स्थानहरु पहिचान गरी स्रोतको उपलब्धताको आधारमा बाख्रा पालन पकेट क्षेत्र कार्यक्रम अघि बढाइने छ ।
१०. वडा भित्र सञ्चालित साना, घरेलु र लघु उद्योगहरुलाई आधुनिकीकरण गरी उद्यमीहरुलाई प्रसाय दिने लगायतको योजनहरु छ ।