शनिबार बिहान ५ बजे संसारकै अग्लो सगरमाथाको चुचुरोमा थिए, पासाङ ग्याल्जेन शेर्पा । चुचुरो चुमेको दुई दिनमै काठमाडौं आइपुगेका पासाङको अनुहार पूरै छियाछिया थियो । हिमालको चिसोले खाएर उनको नाक, गाला पूरै कालो देखिन्थ्यो ।

०७४ जेठ ६ गते २१ वर्षीय पासाङले दोस्रोपटक चुचुरो चुमे । तर, अर्कोपटक चुचुरो चुम्ने साहस उनीसँग छैन । हिमालको दुःख र जीवनको जोखिमले अर्कोपटक चढौँलाजस्तो उनलाई लागेको छैन ।

आँखैअगाडि विश्वका चर्चित पर्वतारोही स्विसका उली स्ट्रेकको ज्यान गयो, दुई हप्ताअघि । लुप्चे फेसबाट खसेर क्याम्प २ को आसपास आइपुगेका उलीको शवको टुक्रा टिप्नेमै परे पासाङ ।

शवसँग एक रात शिविरमा

‘चुचुरो चुमेर फर्किने क्रममा हाई अल्टिच्युडका कारण क्याम्प– ४ मा एकको मृत्यु भयो । बेलुका मृत्युवरण गरेका तिनै विदेशीसँग रातभरि टेन्टभित्रै सुतेँ । शवसँगै सुत्दा डर त खुब लाग्थ्यो । विकल्पै नभएपछि के गरुँ शवसँग नसुतेर ।’

पासाङले हिमालमा देखेका दर्दनाक घटना यो पहिलो होइन । चुचुरो चुम्ने साहस बोकेर पहिलोपटक सन् २०१६ मा सगरमाथा जाँदा पनि ठूलै घटना भोगे उनले ।

हाई अल्टिच्युड वर्कर बनेर सगरमाथा चढ्न पुगेका उनले गत वर्षको यही सिजनमा चुचुरो चुमेका थिए, आफूसँगै विदेशीलाई पनि चुमाए । दुःखको कुरा चुचुरो चुमाएका दुई विदेशीलाई भने सकुशल ल्याउन सकेन उनको समूहले ।

‘चुचुरो चुमेर फर्किने क्रममा हाई अल्टिच्युडका कारण क्याम्प– ४ मा एकको मृत्यु भयो,’ उनले भने, ‘बेलुका मृत्युवरण गरेका तिनै विदेशीसँग रातभरि टेन्टभित्रै सुतेँ ।’ क्याम्प–४ मा खुब हावा चल्छ । बाहिर निस्किँदा हावाले उडाउँलाझैं हुन्छ । शवसँग सुत्नुबाहेक विकल्प भएन उनलाई । ‘शवसँगै सुत्दा डर त खुब लाग्थ्यो,’ एक वर्षअघिको क्षण सम्झिए पासाङले, ‘विकल्पै नभएपछि के गरुँ शवसँग नसुतेर !’

भोलिपल्ट झन् चुनौती आयो उनीहरूलाई । रातभरिसँगै सुतेको शव क्याम्प– २ सम्म ल्याउनुपर्ने थियो । हिमालमा डोरी टाँगिएको हुन्छ । त्यही डोरीको सहाराले उकालो–ओरालो गर्नुपर्छ । शव प्याकिङ गरेर डोरीमार्फत ओराले । फेरि, उनीहरूलाई अर्को संकट आयो, क्याम्प– ४ बाट सय दुई सय मिटर नझर्दै अर्का विदेशीको पनि हाई अल्टिच्युडकै कारण ज्यान गयो । ‘दुई–दुईवटा शव ओराल्नुपर्दा कम्ता गाह्रो भएन,’ उनले भने, ‘आफू पनि कतिबेला शव बनिने हो, पत्तो थिएन । शव बन्न तयार भएरै त काम गर्न थालेका हौं ।’

भोलिपल्ट झन् चुनौती आयो उनीहरूलाई । रातभरिसँगै सुतेको शव क्याम्प– २ सम्म ल्याउनुपर्ने थियो । हिमालमा डोरी टाँगिएको हुन्छ । त्यही डोरीको सहाराले उकालो–ओरालो गर्नुपर्छ । शव प्याकिङ गरेर डोरीमार्फत ओराले । फेरि, उनीहरूलाई अर्को संकट आयो, क्याम्प– ४ बाट सय दुई सय मिटर नझर्दै अर्का विदेशीको पनि हाई अल्टिच्युडकै कारण ज्यान गयो । ‘दुई–दुईवटा शव ओराल्नुपर्दा कम्ता गाह्रो भएन,’ उनले भने, ‘आफू पनि कतिबेला शव बनिने हो, पत्तो थिएन । शव बन्न तयार भएरै त काम गर्न थालेका हौं ।’

क्याम्प– २ मा शव ल्याएपछि हेलिकप्टरले उठायो । ‘पहिलोपटकको घटनाले कहिल्यै सगरमाथा चढ्दिन भन्ने लागेको थियो,’ उनले भने, ‘आखिर पेसा नै यो गरेपछि फेरि पनि चढ्न पुगेँ ।’ यसपटक त झन् क्याम्प– २ को आसपासमै विश्वप्रसिद्ध आरोही उलीको शवका टुक्रा टिप्नुप¥यो उनकै टिमले । शवका टुक्रा बटुल्दा भने उनलाई खुबै डर लाग्यो । कतै हाम्रो पनि हालत यस्तै त हुने होइन भनेझैँ भयो पासाङलाई ।

तर साहस टुटाएनन् उनले । गत शनिबार (जेठ ६ गते) ५ बजे चुचरोमा पुगेरै छोडे । पहिलोभन्दा यसपटक खुसी छन् उनी । किनभने नेपाल शेर्पा विद्यार्थी संघको झन्डा फहराउन पाए उनले । ‘पहिलोपटक भन्दा दोस्रोपटक गर्व महसुस गरेँ,’ उनले भने, ‘म विद्यार्थी जीवनमै आरोहणतिर लागेका कारण संघमा बसेर काम गर्न सकिनँ तर योपटक त्यही संघको झन्डा चुचुरोमा फहराउन पाएँ ।’

यसपटकको आरोहणमा उनले आफ्नो समुदायको गौरवगाथा नियालेको सुनाए । ‘विद्यार्थी संघको झन्डा अहिलेसम्म कसैले पनि चुचुरोमा पुराएको थिएनन्,’ उनले भने, ‘आफ्नो समुदायको सबैभन्दा पुरानो संस्था संघको झन्डा पुर्याउन पाउँदा चुचुरोमा पुगेको भन्दा बढी खुसी भयो।’

काठमाडौंमा संघ कार्यसमितिले उनलाई भव्य स्वागत गर्याे । ‘हाम्रो इतिहास कायम गराउन उहाँले भूमिका खेल्नुभयो,’ नेपाल शेर्पा विद्यार्थी संघका अध्यक्ष निम दोर्जी शेर्पाले भने, ‘हामीले उनलाई सहर परिक्रमा गराएर भव्य स्वागत गरेका हौं।’

उसो त पासाङ पनि विद्यार्थी नै हुन् । तीन वर्षअघि कलेज पढ्दापढ्दै आरोहणतिर होमिएका थिए उनी । शंखुवासभा मकालुमा जन्मेका पासाङका बुबाको पेसा कृषि हो । तर, उनका दाजु भने आरोहण पेसामा छन् । दाजुले आठपटक सगरमाथाको चुचुरो चुमिसके ।

दाजु सगरमाथा चढेर आउँदा सगरमाथा चढ्न पाए पनि हुन्थ्यो भन्ने लाग्थ्यो उनलाई । काठमाडौंमा कलेज पढ्दापढ्दै दाजुसँग सहयोग लिएर थोरङलापास टे«किङ गए उनी । पहिलोपटक हिमालका काखमा घुमेपछि उनले पिक चढ्ने सपना देख्न थाले । टे«किङ क्षेत्रको चर्चित कम्पनी सेभेन समिट टे«क्स उनकै गाउँका दाइहरूको हो । यही सम्बन्धले पासाङले सजिलै पिक चढ्ने काम पाएँ । ६ हजार मिटरमाथि उचाइका छेर्कु, मेरा, आइल्यान्ड, लोबुचे, याला लगायत आधा दर्जनभन्दा बढी पिक चढे । पिक चढ्दै जाने क्रममा सगरमाथा चढ्ने हिम्मत थपिँदै गयो उनीमा ।

यही हिम्मतले २० वर्षको उमेरमा उनी संसारको अग्लो ठाउँमा पाइला टेक्न पुगेँ । यसपछि उनले मनास्लु (८१६३ मि.) पनि चढे । अहिले उनी दोस्रोपटक सगरमाथा चढेर काठमाडौं फर्किएका छन् ।

हिमाल चढ्दा पाइने के हो ?
‘हिमालमा दुई वटा कुरा पाइन्छ । चुचुरो चुम्दाको आनन्द १५ मिनेट जतिको हुन्छ । बाँकी दुःखैदुःख हो । पत्येक पाइलामा मृत्यु कुल्चँदै हिँड्नुपर्छ । कतिबेला ज्यान जान सक्छ पत्तै हुँदैन,’ उनले भने । त्यसैले उनलाई अर्कोपटक सगरमाथा चढ्न मन छैन उनलाई ।

कमाइ भने राम्रै हुन्छ । कमाइले पनि लोभ्याउन सक्छ उनलाई । योपालि कति पारिश्रमिक पाइने हो, बुझेका छैनन् उनले । पहिलोपटक सगरमाथा चढ्दा भने झन्डै सात लाख रुपैयाँ उनको हातमा परेको थियो ।

‘कमाइ त ठिकठिकै हुन्छ,’ उनले भने, ‘हिमालमा कमाइभन्दा पनि ज्यान जोगाउनु नै ठूलो मान्नुपर्छ ।’

योपटक पासाङकै झन्डै ज्यान गयो । चुचुरोमा जाँदै गर्दा बाल्कोनी भन्ने ठाउँमा पुग्दा रातको २ बजेको थियो । त्यहाँ एकजना विदेशीको शव भेटे उनले । तर, त्यही शवलाई नाघेर अगाडि बढे उनी । त्यसको नजिकै अर्का बेहोस थिए । चुचुरो चुमेर फर्केपछि उनले ती बेहोस आरोहीलाई तलतिर झार्ने प्रयत्न गरे । पासाङ आफ्नै अक्सिजन माक्स खुलेछ मुखबाट । अक्सिजनको कमी हुनेबित्तिकै मान्छे बौलाहा जस्तो हुन्छ । पासाङलाई पनि मातेको जस्तो भयो । शरीर पनि शिथिल भयो । हाई अल्टिच्युड सिकनेसले समाउँदै लग्यो उनलाई । धन्न उनले अक्सिजन लिक चाल पाए । डोरीमा बग्दै ओरालो झर्न थाले । जति ओरालो झ¥यो त्यति नै सिकनेस कमी हुँदै जान्छ । त्यसपछि भने आफ्नो अक्सिसिजन माक्स मिलाउन भ्याए उनले । यसपटक भने भाग्यले बाँचे जस्तो लाग्छ उनलाई । ‘सिकनेस लाग्यो, बाँचिएला भन्ने लागेको थिएन,’ मंगलबार उनकै कोठामा कपनमा भेट्दा उनले भने, ‘तपाईंहरूसँग भेट्न जुरेको रहेछ र बाँचे ।’ यसो भनिरहँदा उनको शिरतिर राखिएको सगरमाथाको फोटो टल्किरहेको थियो ।