यो मुलुकमा यस्ता धेरै मानिस छन्, जसलाई यो राज्यका संयन्त्रले चिनेर पनि नचिनेजस्तो गर्छ, देखेर पनि नदेखेजस्तो गर्छ । बोलेर पनि नबोलेजस्तो गर्छ । सुनेर पनि नसुनेजस्तो गर्छ । मुलुकको भलो चाहने मानिस प्रायः गुमनाम भएकोमा राज्यका परिचालक खुसी हुन्छ । राम्रो मानिस आफूहरूका लागि घातक हुने भएकाले ऊ अगाडि नबढोस् भन्ने ‘कुखुरे दिमाग’ हुन्छ, यिनीहरूको । यो मुलुकको दक्ष, शिक्षित र सक्षम मानिस बिदेसिन बाध्य भएका छन् । बाँझो खेत, उजाड बस्ती र कुरुप सहर मात्र बाँकी छ, हामीसँग ।
मुलुक यस्तो भएको छ, मानौँ डाक्टर, पाइलट, इन्जिनियर, प्राध्यापकभन्दा दलाल, फटाहा, चोर, गुन्डा, ठगको प्रशंसा धेरै छ । यो राज्यको तर्फबाट सम्मान-पत्र, ताम्रपत्र, प्रशंसापत्र र खादा-अबिर वरण गर्नेहरू पछिल्ला नामावलीका धन्दावाला छन् । मुलुकमा चाकडी, चाप्लुसी व्यापक छ । कैयौँ मिडियाले पनि यस्तै मानिसलाई उचालेका छन् । ठूलो स्वरमा कराउनेलाई ती झन् आवाज थपिदिन्छन् । गुमनाम आवाजविहीनहरूको आवाजचाहिँ कहिल्यै बन्दैनन् । आवाजविहीनको आवाज बन्ने पंक्तिकारको सानो प्रयत्न मात्र हो ।

गुमनाम तर होनाहार । एउटा महिलावादी महिला । सेता लुगा लगाएर काला काम गर्ने यी दलालका निम्ति एउटा खतरनाक नाम हो, आशा लामा । यो आशा लामा भन्ने नामसँग परिचित छन्, अरबको आँखीझ्यालमा बन्दी भएका नुनिला आँसुहरू, चेलीबेटीका दुधेबालक । सुनौलो सपनाको सिरानीमुनि आफ्नो प्यारी श्रीमतीको तस्बिर राखेर निदाउने एउटा श्रीमानको प्यासी सपना समेत आशा लामासँग परिचित छ, तर परिचित छैनन् राज्यका मालिकहरू । परिचित छैनन् हल्लाखल्ला गरेर कथित महिलासेवी बनेका एलिट अभिजातहरू ।

घरेलु कामदारको रूपमा दलालमार्फत कानुनविपरीत बेचिएका महिलाको त्यो नुनिलो आँसु पुछिदिन्छिन्, आशा लामा । अरबका विभिन्न देशमा पीडा भोगिरहेका महिलाका लागि उनी ‘आइडल ओमन’ हुन् । महिलाको हित, अधिकारका लागि काम गर्छु भन्दै मिडियामा नाराबाजी गर्ने काठमाडौंका नियमित महिला अधिकारवादीभन्दा आशा लामाको काम हजार गुणा प्रभावकारी छ, लाख गुणा सफल छ । सजिलो स्थितिमा सबैले सहज वातावरणमा जीवन बिताउन सक्छन्, तर जब जीवन अप्ठेरो हुन्छ स्थिति सजिलो हुँदैन ।

केही महिनाअगाडि मानव तस्करमार्फत सिरियामा सात हजार डलरमा बेचिएकी बुटवलकी रेनु मगरको सफल उद्धार भएपछि अहिले रेनु आशा लामाको परोपकारी संस्था आशा फाउन्डेसनमा बसेकी छिन् । पंक्तिकार फाउन्डेसनको कार्यालयमा पुग्दा रेनुको मुहारमा खुसीको मुस्कान विछट्टै थियो । यस्तो अनुभूति हुन्थ्यो कि रेनु कुनै युद्ध जितेर फर्केपछि परिवारसँग अकल्पनीय भेट भएको छ । उनको मुस्कानमा कुनै सीमितता थिएन । उनको खुसीमा कुनै अभावको महसुस थिएन । जीवनको एउटा आश थियो, रेनु मगरसँग ।

सिरियामा एक गिलास चामल उमालेर खाएकी रेनु मगर ट्वाइलेटको किनारमा रहेको सानो टेबुलमाथि सुत्थिन् । रकेटको आवाजले उनको मुटु हल्लिएको थियो । मालिकले भन्थे, ‘तँलाई हामीले डलर तिरेर किनेर ल्याएका हौँ । युएईमा सरसफाईको काम गर्ने भनेर लगिएकी रेनु सिरिया बेचिएकी थिइन् ।

रेनु मगरलाई सिरियाबाट उद्धार गर्ने नेपाल सरकार होइन, आशा लामा थिइन् । उनकै ठूलो पहलमा रेनु मगरको मुस्कान फर्केको थियो, खुसी जीवन्त थियो । ‘म त जीवन यत्तिकै रहेछ भनेर काल कुरेर पर्खिरहेकी थिएँ, तर बाँच्न लेखेको रहेछ । मलाई आफ्नै देशका दाइले बेच्नुभयो । सायद आशा म्याडम नभएको भए म यो संसारमा हुनेथिइनँ,’ सिरियामा घरेलु कामदारको रुपमा बेचिँदाको क्षण सम्झदै रेनु मगर थप्छिन्, ‘म बाँचुला भन्नै आशै थिएन, तर आशा लामाले बचाइदिनुभयो ।’

यति भन्दै गर्दा रेनु मगरको आँखा छचल्कियो ।

अहिले रेनु मगर आशा फाउन्डेसनमा बसिरहेकी छिन् र आफूजस्तै गैरकानुनी बाटोबाट घरेलु कामदारको रुपमा बन्धक बनाइएका, बेचिएका महिनाको उद्दार र सहयोगका लागि सहकार्य गरिरहेकी छिन् ।

रेनु मगर उद्धार भई नेपाल आइसकेपछि कामको जस लिन विभिन्न एनजीओ, आइएनजीओ तँछाडमछाड गर्न थाले । तर रेनु मगर सिरियामा हुँदासम्म उनको बारे थाहा पाएर पनि थाहा नपाएजस्तो नाटक गर्नेहरू धेरै थिए । उद्धार पनि सहज रुपमा सम्भव थिएन । सिरिया आफैँ गृहयुद्धको चपेटामा छ । त्यहाँ नेपाली दूतावास पनि छैन । सिरियासँग सरकारको कूटनीतिक सम्पर्क बलियो छैन । तर कानुन जानेकी, बुझेकी, अंग्रेजी भाषामा निपूर्ण र अरब देशसँग बलियो सम्पर्कसूत्र भएकी आशा लामाले चुट्कीको भरमा रेनु मगरलाई नेपाल झिकाइन् ।

‘जी फन्ट’ नामको वैदेशिक संस्थाले रेनु मगरलाई हामीले उद्दार गरेका हौँ भनेर प्रचार गर्यो, मिडियाबाजी गर्यो । विभिन्न सामाजिक संस्थाले झुट प्रचार गर्न थाले । तर सत्य र लुकेको वास्तविकता त्यस्तो होइन । आशा लामा भन्छिन्, ‘जी फन्ट कि निशा बाँनियालाई मैले झपारेँ, उनले ल्याङल्याङ गरेर गल्ती स्विकार्ने कोसिस गरिनन् ।

एउटाले गरेको कामको जिम्मेवारी अरुले कसरी लिन सक्छ ? त्यो डलरका दातालाई कागजमा काम देखाउन जे पनि गर्ने ?’ आशा लामाको मुहारमा एक्कासि आक्रोश चढ्यो ।

लामो समयदेखि कुवेतमा घरेलु कामदारको रुपमा बन्धक भएकी काभ्रेकी २६ वषर्ीया सोममाया तामाङको श्रीमान भक्कानिएर रुँदै आशा लामाको आँगनमा आए । यता सोममायाका श्रीमानको मानसिक सन्तुलन गुम्दै थियो श्रीमतीको यादले, उता सोममाया बेखबर थिइन् परिवारसँग । दलालले सेटिङ मिलाएर कानुनविपरीत घरेलु कामदारको रुपमा कुवेत पुगेकी थिइन् सोममाया । तर अचम्म । उनलाई कुवेतमा दुःख दिनेहरू सरकारकै कर्मचारी थिए । उनी मात्र होइन, हजारौँ नेपाली कामदारलाई पीडा भोग्न बाध्य बनाउने दूतावासमै रहेका दलाल हुन्छन् ।

आशा लामाको पहलमार्फत सोममाया तामाङ नेपाल आइपुगिन्, श्रीमानसँग मीठो भट भयो । उनीहरू अंकमाल गरेर धेरै बेर रोए । मुखामुख हेरिरहे । अक्क न बक्क परेर रोए ।

‘कुवेत दूतावासका कर्मचारी भोगेन्द्र लिङ्देनजीसँग मैले सोममाया तामाङको रेकर्ड मागेँ । मलाई थाहा थियो, उहाँले उपलब्ध गराएको कागजपत्रअनुसार सोममाया सेटिङमा कुवेत पुगेकी थिइन् । यसबारे कुवेत दूतावास राम्रोसँग जानकार थियो र जानकार छ, यस्ता हजारौँ गैरकानुनी कामदारबारे तर दूतावासका कर्मचारी बोल्दैनन् । किनभने, उनीहरूले दलालमार्फत पैसा खान्छन्,’ सोममायालाई उद्दार गर्दाको क्षण सम्झँदै आशा लामा थप्छिन्, ‘सरकारका कर्मचारीले नै मान्छे बेच्नका लागि दलाललाई प्रोत्साहन गरेका छन् ।’

आशा लामाले आफ्नै पहलामा घरेलु कामदारको रूपमा विदेशमा बन्धक बनाइएका सयौँ महिलालाई उद्वार गरेकी छिन् । तर महिला अधिकारवादीको रूपमा उनको नाम कसैले उच्चारण गरेको छैन । विदेशी कामदारको हकहितबारे नीति बनाउँदा उनको सुझाव, सल्लाह कसैले लिँदैन । परराष्ट्र मन्त्रालयका कर्मचारीहरू उनको नाम सुन्दाबित्तिकै अप्ठेरो महसुस गर्छन् । सार्वजनिक फोरममा आशा लामाको उपस्थिति निको मानिँदैन । अरब देशहरूमा रहेका दूतावासका कर्मचारी उनको नाम सुन्दा निराश हुन्छन् ।

आशा लामा फेरि भन्छिन्, ‘बिकज आई नो द्याट ।’

आशा लामाले अंग्रेजी साहित्यमा मास्टर गरेकी छिन् । सिंगापुरबाट ‘कार्गो’ विषयमा आईएटीए गरेकी छिन् । कानुनमा रुचि राख्ने उनले विभिन्न देशमा निजी नोकरी गरे पनि अन्ततः नेपालमै केही नयाँ गरौँ भनेर आशा फाउन्डेसनको संस्थागत विकास गरेका हुन् । योबीचमा उनले करिब तीन हजारभन्दा बढी गैरकानुनी महिला कामदारलाई विदेशबाट उद्धार गरी ल्याएकी छन् । आशा फाउन्डेसनले २०११ जुनदेखि परोपकारी काम सञ्चालन गर्दै आएको छ । आशा लामाले अमेरिका, युएई, सिंगापुरजस्ता देशमा बसेर महिला अधिकारका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएकी छिन् ।

आशा लामाले महिला कामदार विदेश जानुपहिले उनीहरूलाई सम्बन्धित देशको भाषाको ज्ञान दिनेदेखि लिएर तोकिएको काममा दक्ष बनाउन विभिन्न चरणका तालिम र परामर्श दिने कार्यक्रम ल्याउँछिन् । उनी भन्छिन्, ‘यसको एउटै मात्र उद्देश्य नेपाली महिलाले विदेश जाँदा कानुनविपरीत नजाऊन्, नफसुन् र दुःख नपाऊन् भन्ने हो । मलाई कुनै विदेशीदाताले ‘डलर’ दिएको छैन । म मानव सेवाको भावनाले यो काम गरेकी छु । विदेशमा फसेका महिलालाई उद्धार गर्ने क्रममा उनीहरूलाई पठाउने दलाल र कम्पनी मालिकसँग कुरा गर्दा लाखौँ रुपैयाँ टेलिफोन खर्च हुन्छ । त्यो मेरै खल्तीको हो ।’

राज्यले चोर बाटोबाट सेटिङ मिलाएर कानुनविपरीत विदेश पठाउने दलाल र मानव तस्करीको पहिचान गरेर पनि कारबाही गर्न नचाहेको आशा लामाको गुनासो छ । सरकारी मानिसको सहयोगबिना यस्तो डरलाग्दा काम गर्न नसकिने उनी बताउँछिन् । विदेशमा रहेका दूतावासका कर्मचारीको ध्यान कामदारको दुःख कष्ट र कानुनी प्रक्रियामा भन्दा पनि कसरी हुन्छ दलालसँगको मिलेमतोमा पैसा कुम्ल्याउने भन्ने रहेको उनको अनुभव छ । यसबारे आवाज उठाउँदा उनलाई दूतावास र परराष्ट्र मन्त्रालयले राम्रो व्यवहार गरेनन् ।

आशा फाउन्डेसन परोपकारी संस्था भएकाले विदेशमा गई फसेका सयौँ महिलाहरूको उद्धारका लागि ठूलो भूमिका निभाएको छ । यो भूमिका अहिलेसम्म सरकारको संयन्त्रले निभाउन नसकेको भूमिका हो, तर फसेका महिलालाई उद्दार गर्ने काम मात्र महत्त्वपूर्ण होइन । उनीहरूलाई विदेश जानुभन्दा पहिले परामर्शहरू दिने, वैधानिक बाटोबारे जानकारी दिने काम पनि यसको एउटा हिस्सा हो । त्यसैले आशा फाउन्डेसनले महिलालाई विदेश पठाउन सहजीकरण गर्ने काम पनि गर्छ । तर, यो पूर्णतया ‘म्यानपावर’ भने होइन ।

मलेसिया पुगेर मासिक ८० हजार नेपाली रुपैयाँ कमाइरहेकी २८ वर्षीया पूर्णिमा गुरुङ बिदामा नेपाल आइन् र आशालाई भेट्न अफिसमा आइपुगिन् । पंक्तिकारको प्रश्नमा पूर्णिमा भन्छिन्, ‘मलेसियामा दुःख पायौँ, पीडित भयौँ भन्नेहरू धेरै छन्, तर उनीहरू भूलवश चोर बाटोबाट वा दलालको गलत नियतवश ठगिएर गएका हुन् । मलेसियामा सबै कम्पनी नराम्रा छैनन् । काम सिकेर गयो, भाषाबारे ज्ञान भयो भने धेरै सजिलो छ मलेसियामा ।’

पूर्णिमाले तीन वर्ष अगाडि आशा फाउन्डेसनमार्फत परामर्श लिएर मलेसिया उडेकी थिइन् ।

विदेश जानुभन्दा पहिले आफूले गर्न खोजेको कामबारे दक्षता हासिल गर्नुपर्दछ । आशा फाउन्डेसनले ‘सीटीभीटी’सँग सहकार्य गरेर विभिन्न सीपमूलक कामबारे तालिम दिँदै आइरहेको छ । यसको उद्देश्य नाफा कमाउने वा व्यावसायिकभन्दा पनि विदेशमा महिलाले ज्ञान, सीपको अभावमा दुःख भोग्न नपरोस् भन्ने रहेको आशा लामा बताउँछिन् । उनी भन्छिन, ‘हामीले काउनसेलिङ गरेर पठाएका महिला खुसी छन् । विदेशमा बन्धक पारिएका वा घरेलु कामदारको रुपमा इच्छाविपरीत फसेका महिला उद्दार गर्ने क्रममा हामीलाई के लाग्यो भने अब महिलालाई विदेश पठाउँदा सम्बन्धित कामबारे तालिम दिनु अति आवश्यक छ ।

सरसफाईको कामदेखि लिएर विभिन्न प्राविधिक कामका लागि एक महिनामा सयौँ महिला ‘आशा फाउन्डेसन’को सुझाव, सल्लाह र सहयोगमा बिदेसिन्छन् । कम शुल्कमा कामबारे दक्षता हासिल गरेपछि वैधानिक बाटोमार्फत उनीहरू विदेश जान्छन् । जति गएका छन्, ती सबै खुसी छन् । जसलाई उद्धार गर्नुपरेको छ, ती सबै अवैधानिक रुपमा दलालमार्फत सेटिङ मिलाएर गएका छन् । कार्यालय खर्च चलाउन सामान्य सेवा शुल्क मात्र लिएर महिलाको सुरक्षित भविष्यका निम्ति आशा लामाले देखाएको परोपकारी भावना युग-युगसम्मका लागि प्रशंसायोग्य छ । मानव सेवाका निम्ति उदाहरणीय छ ।

आशा लामाको जय होस् ।

-दिल निसानि मगर @ अनलाइन खबर