अहिले लोसारको सरगर्मी बढिरहेको बेला छ । नेपालको गाउँघर, शहरबजार र राजधानी काठमाण्डौं अनि विदेशका अधिकांश देशहरु जहाँ शेर्पाहरुको बसोबास रहेका छन, ती सबैतिर नै नजीकिदै गरेको लोसारमा आयोजना हुने विविध कार्यक्रमहरुका लागि तयारीहरु गर्न सबै व्यस्त देखिन्छन । यो बार्षिक लोसारको अवसरमा हुने शेर्पाहरुको निरन्तरता भनेर पनि भन्न सकिन्छ । यसरी बार्षिक रुपमा शेर्पा लगायत अन्य बौद्ध धर्मावलम्बीहरुले नयाँ बर्ष र विशेष पर्वको रुपमा मनाउदै आईरहेको लोसारबारे खासै व्याख्य गरिरहनु नपर्ला । सो बारेमा थुप्रै विज्ञहरुले नै धेरै लेख रचनाहरु लेखिसकेका छन ।

व्यक्तिगत रुपले जतिबेलादेखि म आफुलाई यस धर्तीमा छु भन्ने अनुभति हुनु थाल्यो त्यही बेलादेखि नै लोसार मनाउने कुरा पनि सँगसँगै जानकारी भएको अवस्था हो अर्थात बाल्यकालदेखि नै लोसारसँग मेरो सामिप्यता छ । सायद मेरो बाल्यकालको त्यो अवस्थामा हाम्रो देश भनिने नेपाललाई एकात्मक हिन्दु अधिराज्यको नामले पुकारिने रहेछ, हिन्दु धर्म अन्तरगतका सबै संस्कार संस्कृतिहरु विविधतायुक्त भनिएका राज्यको संस्कार संस्कृतिको रुपमा मानिनु पर्ने रहेछ र विविधता भन्ने कुरा शब्दमा मात्रै सिमित भएर रहेको रहेछ, यद्यपी नेपालको त्यही विविधतालाई जोगाउन कै लागि नेपालकै एउटा कुनामा शेर्पाहरुले आफ्नै बलबुतामा आफ्नो मौलिक पहिचानलाई निरन्तरता दिईरहेको रहेछ र त्यसैको अनुभुति गर्ने मौका म जस्ता थुप्रै शेर्पाहरुले पाए होला सायद । किनकी त्यस्तै अनुभुति र हाम्रो महत्वपूर्ण पर्व लोसारसँगको सामिप्यता विशेष गरी शेर्पाहरुको आदिम थलोमा जन्मिएर बौद्ध धर्म अन्तरर्गत रहेका परम्परा र संस्कृति सहितको शेर्पापनमा हुर्किएका अधिकांश शेर्पाहरुको प्रतिनिधित्व हो भन्ने म महासुस गर्दछु । यसबाट मैले यहाँ भन्न खोजेको एउटा कुरा के हो भने नेपालको ईतिहासमा परापुर्वकालदेखि नै लोसार मनाउदै आएको समूदाय भनेको विशेष गरी शेर्पा समूदाय नै हो र यसलाई मेरो ३० बर्षे ईतिहासको अनुभुतिको आधारमा मात्रै भनिएको भनेर बुझ्न जरुरी छैन किनकी हाम्रा पुस्तौ पुस्तादेखिका पुर्खाहरुले नै निरन्तरता दिदै आईरहेको मौलिक पहिचानको त्यो निरन्तरतामा मेरो उमेरका पुस्ताले पनि अनुभुत गर्ने मौका पायो र त्यसलाई म सगौरवका साथ सम्झन चहान्छु ।

परिवर्तनशील विश्वमा अहिले समय र परिस्थितीहरु बदलिएका छन । हिजो नेपालका हिमाली क्षेत्रहरुमा मात्रै सिमित रहेका हामी शेर्पाहरु अहिले त्यो भुगोलको सिमितता मात्रै छैनौ । नेपालमा मात्रै होईन विश्वका धेरै मुलुकहरुमा बसोबास गर्ने अवस्थाको वर्तमान शेर्पा समूदायलाई हामी देखिराखेका छौं र त्यहाँ भुगोल मात्रै होईन राष्ट्रियता समेत फेरिएका छन शेर्पाहरुको । तर, पनि हाम्रा पुर्खाहरुले परम्परा र संस्कृतिको रुपमा विकास गरेका मौलिक शेर्पापनलाई जो जहाँ जुनसुकै अवस्थामा रहेपनि अंगीकार गरिरहेका छौं । त्यसैले त लोसारको यो अवसरमा संसारभरीका शेर्पाहरु एकैचोटी जुरुक्कै उठ्ने अवस्था बार्षिक रुपमा यतिबेला हामी देख्न सक्छौं ।
केही विगतका कुराहरुलाई सम्झने हो भने काठमाण्डौं आईसकेपछि शेर्पा सेवा केन्द्र र हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले विशेष रुपमा लोसारको अवसरमा आयोजना गर्ने लोसार लप्सु, लोसार ¥याली र गुथुक साँझ लगायतका कार्यक्रमहरुमा व्यक्तिगत सामिप्यता रह्यो । विशेषत ती कार्यक्रमहरु नेपालका विभिन्न जिल्लाहरुबाट काठमाण्डौं आएका शेर्पाहरुलाई मौलिक शेर्पापनमा जोड्ने एउटा महत्वपूर्ण माध्यम थियो, साथै शेर्पाहरु आफ्नो आदिम भुमिबाट राजधानी काठामाण्डौं आईसकेपछि त्यही देशको नागारिक भईकन पनि एकल जातीय राज्यको शासन व्यवस्थाले हाम्रो मौलिक पहिचानमाथि विभेद गरेको रहेछ भन्नेबारे प्रष्टसँग जानकार हुन थालेका थिए । त्यसैले पनि शेर्पाहरु राजधानी काठमाण्डौं आईसकेपछि अझ बढी संगठित र प्रतिवद्ध भएर सामाजिक रुपमा शेर्पापनलाई जोगाउन लागिपरेको पाईन्छ ।
विभिन्न कारणले विभिन्न जिल्लाबाट राजधानी काठमाण्डौं आएका  शेर्पाहरुलाई एक आपसमा जोड्न ती संघ संस्था र कार्यक्रमहरुले महत्वपूर्ण भुमिका खेलिनै रहेका छन, किनभने यो जिल्ला वा त्यो जिल्ला नभनीकन शेर्पा भाषा, संस्कृति र परम्परा तथा सामाजिक मुल्य र मान्यताहरुको संरक्षण र प्रवद्र्धन गर्नु मात्रै मुल रुपमा ती संघ संस्था र कार्यक्रमहरुको उद्देश्य हुने गर्दथ्यो र भईरहेका छन । गतिशिल समयसँगै मानवीय असिमित चाहनाहरुले भुमण्डलीकृत हुदै गएको विश्वमा शेर्पाहरुको बसाई पनि केवल नेपालका विभिन्न जिल्लाहरुबाट काठमाण्डौंसम्म मात्रै आएर बस्नेमा सिमित भएनन् । सायद भारतको दार्जिलिङ र सिक्कमलाई शेर्पाहरुले प्रवास बसाईको सुरुवात बनाएका थिए होलान । त्यसपछिको निरन्तरताबाट आजसम्मको अवस्था हेर्ने हो भने संसारका अधिकांश मुलुकहरुमा शेर्पाहरु पुगेका छन ।
कतिपय देशहरुमा करार अवधिका लागि बसोबास गरिरहेका छन भने कतिपय देशहरुमा स्थायी बासिन्दाकै रुपमा त्यस देशका नागारिक स्वीकारेर बसेका छन । तर, जहाँसुकै जुनसुकै रुपमा शेर्पाहरुको बसोबास भएता पनि शेर्पाहरुको मौलिक पहिचानसहितको शेर्पापनलाई अंगीकार गर्ने सवालमा कही कतै दुईमत छैन ।  पछिल्लो एक दशकभित्रमा भएको सुचना र प्रविधिको चरम विकासले शेर्पाहरु विश्वको जुनसुकै मुलुकमा रहेता पनि एकआपसमा जोड्न ज्यादै ठुलो भुमिका खेलिरहेको छ । हिजो विभिन्न जिल्लाहरुबाट काठमाण्डौं आउदा बखतका जस्तै गरी एउटा पहिचानको विन्दुमा जोडिने अवस्था अहिले विश्वमा बनेको छ र त्यसको कार्यन्वयन गर्ने माध्यम लोसार नै बनिरहेको छ ।
जसरी गाँउघरबाट काठमाण्डौं आएपछि आफ्नो पहिचानप्रतिको चाह अझ बढी भएको अवस्था जस्तै विदेशमा गएपछि झन त्यो बढी हुने कुरा स्वभाविक नै रह्यो । पहिलो त आफ्नो परिवार, गाउँठाउँ र रहनसहनहरुबाट विल्कुल टाढा भएर रहनुमा जतिको खल्लो अनुभव अरु के नै होला र । यस्तो अनुभुतिहरु हुदाँहुदै पनि बाध्यताले र केही संकल्प समेत बोकेर विदेश जानेहरुको लहर पनि एउटा संस्कार जस्तै नै बनेको छ अहिले । यद्यपी विदेशी भुमिहरुमा पनि शेर्पाहरुले आफ्नो पहिचान र संस्कार संस्कृतिको निरन्तरता भने दिईनै रहेका छन । अगाडी चर्चा गरिएजस्तै विश्वका विभिन्न मुुलुकहरुमा पुगेका शेर्पाहरुले ती देशहरुमा आफ्नो सामाजिक संघ संस्थाहरु स्थापना गरेका छन र त्यसैको मार्फत लोसार लगायतका कार्यक्रमहरु आयोजना गरेर आफ्नो प्राचीन संस्कृतिको निरन्तरतामा तिर्सना मेटाउने गरेका छन । यसलाई आफ्नो शेर्पा संस्कृति र परम्पराको संरक्षण र प्रवद्र्धन गरिरहेको अर्थमा नै हामी बुझ्दछौं ।
हुन त नेपालमा रहेर लोसार मनाउनु र विदेशमा रहेर लोसार मनाउनुमा केही भिन्नताहरु पक्कै छन ।
मेरो व्यक्तिगत अनुभुतिलाई आफ्नो सम्झनाको खुत्रुकेबाट झिक्दा नेपाल र विदेशमा मनाउने लोसारहरु दुवैको अनुभव प्रत्यक्ष रुपमा संगालेको छु । नेपालमा रहदाँ हिमलायन शेर्पा सांस्कृतिक केन्द्र र नेपाल शेर्पा संघमा रहेर बार्षिक रुपमा शेर्पाहरुको लोसार मनाउने र त्यसलाई कसरी वृहत बनाउने भन्ने बारे गरिएका अनुभुतिहरु छन भने विदेशमा पनि यूएई, बेल्जियम र पोर्तुगलको शेर्पा संघ संस्था तथा किदुगहरुले आयोजना गरेका लोसार कार्यक्रमहरुमा प्रत्यक्ष सहभागिता जनाएर केही अनुभुतिहरु संगालेको छु । साथै आधुनिक सुचना र प्रविधिलाई प्रयोग गर्दै विश्वका सबै देशहरुमा आयोजना हुने शेर्पाको लोसार कार्यक्रबारे नजीक रहेर सुचनाहरु लिने प्रयास पनि गरिरहेको हुन्छु । नेपालमा रहेर कार्यक्रम आयोजना गर्दा पनि आफैमा चुनौतीहरु थुप्रै छन ।
आफ्नै देश भएर पनि राज्यको विना सहयोगमा कार्यक्रमका सबै चाँजोपाँजो मिलाउनु पर्ने बाध्यताहरु थिए र त्यो अझै पनि कायम नै छ । माथी उल्लेख गरिए झै प्राचीनकाल देखि बौद्धमार्गी शेर्पाहरु मनाउदै आएको लोसार पर्वको व्यापकता पछिल्लो समयमा आएर केही बढेको भएता पनि भर्खर लोसारलाई ग्रहण गरेका समूदायहरुले अपनाएको आक्रमक प्रचारशैली र उपस्थितीको व्यापकताले शेर्पाको लोसारसँग जोडिएको पहिचानमा पनि चुनौती थपिएको अवस्था सोचनीय बिषय थियो । अर्थात लोसार कार्यक्रमहरु परम्परागत शैलीमा मात्रै नभएर आधुनिक शैलीबाट आयोजना गर्दै शेर्पा संघ संस्थाहरुले आयोजना गर्ने कार्यक्रमहरुलाई व्यापक बनाउनुपर्ने बाध्यता थपिएको थियो । यसको अर्थ अन्य समूदायले लोसार अपनाएको प्रति गरेको गुनासो भने कदापी होईन । उनीहरुले अपनाए जस्तै आधुनिक शैलीमा शेर्पा समूदायलाई पनि जगजगाउन पर्ने आवश्यकतालाई महसुस गरिएको भन्ने अर्थमा यो लोसारको बेला शेर्पा संघ संस्थाहरुको लागि चुनौती भनिएको हो । यिनै विशेष चुनौतीहरुका बाबजुत नेपालमा सामाजिक संघ संस्थामा जिम्मेवारी लिएका पदाधिकारीहरुको समयमा हुने केही अनुकुलताले लोसार कार्यक्रमहरु व्यापक तयारीका साथ आयोजना गर्नमा मद्दत पुग्थ्यो । तर, विदेशमा आयोजना हुने कार्यक्रमहरुमा भने समयको प्रतिकुलता पनि अर्को थप चुनौती हुने गर्दछ । सबै आ–आफ्नै काममा व्यस्त रहनुपर्ने बाध्यताका बाबजुत आयोजना हुने कार्यक्रमहरुमा पुर्व तयारीका लागि केही समस्यहरु रहने गरेको देखियो । त्यसै गरी लोसारलाई तिथिअनुरुप भन्दा पनि सबैको छुट्टीको समयलाई अनुकुल बनाएर कार्यक्रम गर्दै मनाउनुपर्ने बाध्यताहरु पनि देखियो । तर, आफ्नो गाउँठाउ परिवार र छरछिमेकबाट टाढा रहनुको खल्लो अनुभुति अनि परम्परागत संस्कार संस्कृतिक प्रतिको मायाले होला सायद, जस्तोसुकै बाध्यताहरुलाई छिचोलेर भए पनि विदेशमा बस्ने शेर्पाहरुले लोसार कार्यक्रमहरु व्यापकताका साथ आयोजना गर्ने गरेको यथार्थता रहेको छ ।
खैर, बदलिदो समयको मागसँगै मानवीय रहनसहनका अवस्थाहरु बदलिईरहन्छ । हिजो नेपाल नै सबै शेर्पाहरुको आफ्नो देश हो भन्ने कुरा आज ईतिहास बन्दैछ, किनकी विदेशलाई नै स्वदेश बनाएर पुस्तान्तरण हुदै गएका शेर्पाहरुको अवस्थाले त्यही पुष्टि गर्दै गईरहेको छ । यस्तोमा पनि हामीलाई मौलिक पहिचानको शेर्पापनमा जोड्दै विश्वभरीका शेर्पाहरुको एकतालाई कार्यन्वयन गर्ने माध्यम लोसार नै हो र त्यसलाई विश्वव्यापीकरण कै अवस्थाबाट व्यापकता बनाउदै जानुपर्छ र पुस्तालाई यसमा जोड्दै जानुपर्दछ किनकी त्यो नै कालान्तरसम्म हाम्रो शेर्पापनलाई कायम राखिरहने एउटा पाटो हो ।
थुचिछे ।

लेखक शेर्पा सञ्चार समुहका पुर्व अध्यक्ष तथा युरोप शेर्पा संघका महासचिव हुन ।