2017-03-28-Tuesday

तमू ल्होछार किन पुस १५ मै ?

– प्रा. जगमान गुरुङ –

ल्होसार र ल्होछार 

ल्होसार तिब्बती शब्द हो । ‘ल्हो’ले वर्ष, संवत् र मानिसको उमेरलाई बुझाउँछ भने ‘सार’को अर्थ हुन्छ नयाँ । तिब्बती भाषामा विशेषणको प्रयोग नाम शब्दको पछाडि हुन्छ जसले गर्दाखेरी सारल्हो नभनीकन ल्होसार भनिएको हो । खस नेपाली भाषामा विशेषको प्रयोग नाम शब्दको अघि हुन्छ । जस्तो, नयाँ संवत् अथवा नयाँ वर्ष । ‘नयाँ’ विशेषण शब्द भयो, ‘वर्ष’ नाम शब्द हो ।

नेपालका हिमाली क्षेत्रका समुदायले पनि ल्होसार शब्दै प्रयोग गर्छन् । तर, उच्च पहाडी क्षेत्रका तामाङ र गुरुङहरुले ल्होछार शब्द प्रयोग गर्छन् । यो ल्होछार शब्द तिब्बती ल्होसारबाट नेपाली जनजिब्रोले नेपालीकरण गरेको हो ।
विश्वभरि अहिले तीनथरी ल्होसार मनाइन्छ । ल्होछार भने एक प्रकारको मात्र मनाइन्छ ।

तीनथरी ल्होसारमध्ये सबैभन्दा पुरानो ल्होसार हो तोल ल्होसार । तोलको अर्थ हुन्छ समयचक्र । त्यसकारण यसलाई समयचक्र संवत्सर भनिन्छ । यो पुस शक्ल प्रतिपदामा मनाइन्छ । यो ल्होसार पश्चिम तिब्बतको मानसरोवर वरिपरि र नेपालको हुम्ला, मनाङ र भुटानका केही जनसंख्याले मनाउँछन् ।

अर्को हो स्वनम ल्होसार । स्वनमको अर्थ हुन्छ पुण्य । त्यसकारण यसलाई पुण्य संवत्सर भनिन्छ । यो माघ शुक्ल प्रतिपदामा मनाइन्छ । तिब्बतको ल्हासादेखि पश्चिम, मानसरोवरदेखि पूर्वको पूरै तिब्बत र नेपालको हुम्ला, मनाङबाहेक सम्पूर्ण हिमाली क्षेत्र तथा तामाङहरुले यो चाड मनाउँछन् । चीनमा मानिने ल्होसार पनि यही हो । जनसंख्याको हिसाबले स्वनम ल्होसार मान्नेहरुको जनसंख्या संसारमा सबैभन्दा बढी छ ।

तेस्रोथरी ल्होसार हो ग्याल्बो ल्होसार । यो फागुन शुक्ल प्रतिपदामा मनाइन्छ । ल्हासादेखि पूर्वको तिब्बत र नेपाली शेर्पा समुदायले मान्ने ल्होसार यही हो । यो तिब्बतको राजकीय ल्होसार पनि हो । ग्याल्बोको अर्थ हुन्छ राजा । त्यसकारण यसलाई राज संवत्सर पनि भनिन्छ ।
र, नेपालका गुरुङहरुले मनाउने संवत्सर तमु ल्होछार हो । तमु शब्दले गुरुङलाई बुझाउँछ । तमु ल्होछार हरेक वर्ष पुस १५ गते मनाइन्छ ।

तमु ल्होछार गतेअनुसार मनाइन्छ, ल्होसारचाहिँ तिथिअनुसार मनाइन्छ ।

किन पुस १५ ?

पुस १५ गतेदेखि रात लामो हुने क्रमको अन्त्य हुन्छ र दिन लामो हुन सुरु हुन्छ । त्यसो भएकोले गुरुङहरुले पुस १५ लाई नयाँ वर्ष मानेका हुन् ।

वर्ष भनेको सूर्यको प्रत्यक्ष गति हो । सूर्यको गतिअनुसार महिना, दिन, बार सुरु हुन्छ । गुरुङहरुले यही आधारमा रात लामो हुने क्रमको अन्त्य हुने र दिन लामो हुन थालनी हुने समयलाई आधार मानेर पुस १५ मा ल्होछार मनाएका हुन् ।

क्रिस्चियन नयाँ वर्ष रातको १२ बजे बदलिन्छ । तर, तिब्बती ज्योतिषशास्त्रअनुसार वर्ग (वर्ष) परिवर्तन रातको १२ बजे होइन हिमालयमा घाम झुल्किएपछि हुन्छ । त्यसकारण तमुहरुको नयाँ वर्ष पुस १५ मा हिमालयमा घाम झुल्किएपछि सुरु हुन्छ ।

विश्वमा अहिले लन्डनको ग्रिनविचलाई शून्य डिग्री समय मानेर विश्वको समयको निर्धारण गर्ने गरिएको छ । र, नेपालको स्ट्यान्डर्ड समय गौरीशंकर हिमालको समय हो । ग्रिनविच र गौरीशंकरको समयमा ५ घण्टा ४५ मिनेटका अन्तर छ । नेपालमा गौरीशंकर हिमालमा घाम झुल्किएपछि नयाँ वर्ष सुरु हुन्छ । तर, यो त भर्खरै सरकारले मान्यता दिएको हो । गौरीशंकरभन्दा पहिले काठमाडौंको समयलाई नेपालको स्ट्यान्डर्ड समय मानिन्थ्यो ।

गुरुङहरु उच्च पहाडी भूभागमा बसेका कारण उनीहरुले सबैभन्दा पहिला सूर्य उदाएको देख्ने र सबैभन्दा ढिलो सूर्य अस्ताएको देख्ने हिमालयमै हो । तर, गुरुङहरुले गौरीशंकर होइन मादीको शिरमा रहेको घ हिमाललाई पवित्र श्रद्धा गर्ने गर्छन् । घ अर्थात् हिमालय पर्वत । त्यो घ हिमाललाई अहिले अन्नपूर्ण दोस्रो भन्ने गरिएको छ ।

तमु ल्होछारः नेपाली मौलिकता

जातीय बसोबासको आधारमा गण्डकी प्रदेशलाई ४ भागमा विभाजन गर्न सकिन्छ । जस्तो, हिमालदेखि उत्तरको भूभाग भोट । हामी अहिले भोट भन्नासाथ तिब्बतलाई बुझ्छौं तर नेपालको भूभागलाई पनि भोट भनिन्छ । मुस्ताङ भोट, मनाङ भोट भन्ने चलन अझै छ ।

हिमाली क्षेत्रसँग जोडिएको दक्षिणतिरको भागलाई काँठ भनिन्छ । काँठसँग जोडिएको अझ दक्षिणतिरको घमाइलो भागलाई कछाड भनिन्छ । र, कछाड क्षेत्रभन्दा मुनि चुरे भावरभन्दा तलतिर थारु भाषा र संस्कृतिको सम्प्रभुता भएको क्षेत्र हो जसलाई थरुवान भनिन्छ ।

काँठ क्षेत्र तमु भाषा र संस्कृतिको सम्प्रभुता (वर्चस्व) भएको क्षेत्र हो जसलाई तमुवान भनिन्छ । कछाड क्षेत्र मगर भाषा र संस्कृतिको सम्प्रभुता भएको क्षेत्र हो जसलाई मगरात भनिन्छ । खसानबाट पूर्वतिर अघि बढ्दै आएका खसहरुको खस भाषा र संस्कृतिको पूर्ण विकास भएका कारण मगरात क्षेत्रलाई खसान्त पनि भनिन्छ । पछि आएर त्यहाँ बाहुनहरु पनि मिसिए । यसरी बनेको हो गण्डकी प्रदेशको सामाजिक संरचना ।

जहाँसम्म पुस १५ मा तमु ल्होछार मनाउने कुरा छ, यो नेपाली मौलिकतामा तमुहरुले विकास गरेको चाड हो । र, यो चाडमा समन्वय छ, सहअस्तित्व छ र सद्भाव पनि छ ।

तमुहरुले पुस १५ लाई नयाँ वर्ष सुरु हुन्छ भनेर मान्दै आएका थिए । खस र बाहुनहरुले नयाँ वर्षकै रुपमा त होइन तर यस दिनदेखि रात छोटो हुन थाल्छ, दिन लामो हुन थाल्छ भनेर ‘पुसे १५’ मनाउन थालेका हुन् । उनीहरुले पुस १५ मा कालो मासको फुलौरा खाने गर्छन् । मास प्रोटिनको स्रोत भएका कारण त्यसले जाडोमा ताप दिन्छ । त्यस्तै, उखुको खुदो मिसाएर पकाइने अनदी (एक प्रकारको धान) चामलको लट्टे (चाम्रे) पनि खाने चलन छ ।

मगरहरुले पुस १५ मा खुवा खाने गर्छन् । अहिले वनभोज भनेझैं हो यो चाड । मगर युवायुवतीहरु खुवा खाएपछि आफ्नो जीवनसाथी रोज्ने गर्छन् । गुरुङहरुको लागि पुस १५ मा नयाँ सुरु हुन्छ, मगरहरुको त वैवाहिक जीवन (घरजम) नै सुरु हुन्छ ।

पुस १५ गुरुङ, मगर, खस र बाहुनहरुको साझा चाड बन्न पुगेको छ ।

मान्छेहरुले लामो समयदेखि खगोल (अन्तरिक्ष) र भूगोल (पृथ्वी) दुवैको अध्ययन गर्दै आएका छन् । भूगोलका मानिसहरुले खगोलको अध्ययन गर्दा नेपालको दक्षिण भारततिरबाट पनि भएको छ, नेपालको उत्तर चीनबाट पनि भएको छ ।

चिनियाँ र भारतीयहरुले खगोलको अध्ययन गर्दा आकाशका नक्षत्रका अलगअलग समूहलाई पशुपंक्षीजस्तो देखे । जस्तो कि भारततिरबाट नक्षत्रको अध्ययन गर्नेहरुले नक्षत्रको एउटा समूहलाई भेडाजस्तो देखे त्यसकारण त्यो मेष राशी भयो तर चीनतिरबाट अध्ययन गर्नेहरुले त मुसाजस्तो देखे । त्यसकारण त्यो मुसा राशी भयो । दोस्रो नक्षत्रको समूहलाई भारततिरबाट अध्ययन गर्नेहरुको गोरुजस्तो देखे, त्यसकारण उनीहरुले वृष राशी भने । चीनतिरबाट अध्ययन गर्नेहरुले पनि त्यसलाई चाहिँ गोरु अथवा गाईजस्तै नै देखे । भारतीय ज्योतिषशास्त्रमा १२ राशी हुन्छ, चिनियाँ ज्योतिषशास्त्रमा १२ वटा ल्हो हुन्छ जसलाई विभिन्न पशुपंक्षीको प्रतीक मानेर बुझाउने चलन छ ।

१२ नक्षत्र र १२ वर्ग

चिनियाँ ज्योतिषशास्त्रअनुसार पहिलो ल्हो हो च्यु अर्थात् मुसा वर्ग ।

दोस्रो ल्हो हो लोङ अर्थात् गाई वर्ग । कतिपयले गोरु वर्ग पनि भन्ने गरेका छन् ।

तेस्रो ल्हो हो तो अर्थात् वाघ वर्ग ।

चौथो ल्हो हो ह्य्वइ अर्थात् खरायो वर्ग । कतिपयले यसलाई बिरालो वर्ग पनि भन्छन् ।

पाँचौं ल्हो हो प्ह्रु अर्थात् गोरु वर्ग ।

छैटौं ल्हो हो प्ह्री अर्थात् सर्प वर्ग ।

सातौं ल्हो हो त अर्थात् घोडा वर्ग ।

आठौं ल्हो हो ल्हु अर्थात् भेडा वर्ग । पुस १५ पछि भेडा वर्ग सुरु हुन्छ ।

नवौं ल्हो हो प्र अर्थात् बाँदर वर्ग ।

दशौं ल्हो हो च्ह्य अर्थात् चरा वर्ग ।

एघारौं ल्हो हो खि अर्थात् कुकुर वर्ग ।

र, बाह्रौं वर्ग हो फो अर्थात् मृग वर्ग । कतिपयले यसलाई बँदेल वर्ग पनि भन्छन् ।

वर्गलाई तिब्बतीहरुले लो भन्छन्, गुरुङहरुले ल्हो भन्छन् । ल्होको एक चक्र १२ वर्षमा पूरा हुन्छ ।

ल्होछारमा जनजागरण

गुरुङहरुले ल्होछारमा आफ्नै खेगी (पुरेत) लगाएर थासोँ (ग्रहदशा) फाल्ने गर्छन् । पुस १५ मै खेगी नपाइन पनि सक्ने भएकाले अरु दिनमा समेत थासोँ फालिन्छ । खेगी नपाइए घरका बुढीआमा, बुढापाकाहरुबाट थासोँ फालिन्छ ।

थासोँ फाल्दा बेसार दलेर पहेंलो बनाइएको काँचो धागोको डोरोले पुरुषलाई नौ सरो र नौ गाँठोले बाँधिन्छ भने महिलालाई सात सरो र सात गाँठोले बाँधिन्छ । गुरुङ भाषामा यसलाई प्हैरु भनिन्छ । प्है भनेको आफूले ओगटेको, रु भनेको धागो भन्ने अर्थ लाग्छ । अर्थात् प्हैरुको अर्थ डोरो छाँदेर राखेको भन्ने हुन्छ । यसरी डोरोले छाँदेपछि भूतप्रेत, दोखदखालो लाग्दैन भन्ने विश्वास छ ।

बेसार एन्टिबायोटिक भएकोले काँचो धागोमा दल्ने गरिएको हो । पुरुषको सातो (प्राण) नौवटा हुन्छ, महिलाको सातो सातवटा हुन्छ भन्ने विश्वासमा धागोको नौ गाँठो र सात गाँठो बनाउने गरिएको हो । यो घाँटीमा लगाउने चलन छ । साना केटाकेटीलाई प्हैरु लगाइदिँदा कम्मरमा कन्दनीको रुपमा बाँधिदिने चलन छ । केटाकेटीको त हातखुट्टामा पनि लगाइदिने चलन छ ।

प्हैरु (डोरो) बाँध्न गर्मी सुरु हुने र जाडो सुरु हुने समयलाई आधार मान्ने गरिएको छ ।

गुरुङहरु गर्मीको सुरुवात श्रीपञ्चमीदेखि हुन्छ, जाडोको थालनी नागपञ्चमीदेखि हुन्छ भन्ने विश्वास गर्छन् । गर्मी सुरु भएपछि दक्षिणी गोलाद्र्धका कर्याङकुरुङहरु उत्तरतिर लाग्छन् । त्यसकारण अगाडिबाट पछाडि पिठ्युँपट्टि गाँठो बनाएर प्हैरु बाँधिदिने गरिन्छ । नागपञ्चमीदेखि जाडो सुरु हुने भएकोले उत्तरी ध्रुवबाट कर्याङकुरुङहरु दक्षिणी ध्रुवतिर फर्किन थाल्छन् । त्यसैले पछाडिबाट अगाडिपट्टि गाँठो बनाएर प्हैरु बाँधिदिने गरिन्छ । यसरी गुरुङहरु उत्तरायण र दक्षिणायण छुट्याउने गर्छन् ।

थासोँ फाल्दा १२ ल्हो (वर्ग) का प्रतीकहरु बनाएर श्वस्तिशान्ति गरिन्छ जसलाई गुरुङहरुले कैँदु भन्छन्, तिब्बतीहरुले तोर्मा भन्छन् । त्यो लगेर दोबाटोमा सेलाइन्छ ।

ल्होछार भनेको ग्रहशान्ति र शुभकामना आदानप्रदानको पर्व हो । तर, पुस १५ लाई भव्यतापूर्वक मनाउँदा राज्यले केही नदिने, दशैं–तिहार आदि मनाउँदा चाहिँ राज्यले गाउँको तालुकदार, जिम्मावाल, मुखिया, द्वारे, मिर उमरावजस्ता पदवी र अधिकार दिने भएकोले ल्होछारमा हुने नातागोतासँग भेटघाट र शुभकामना आदानप्रदान गर्ने चलन हराउँदै गएको थियो । तर, अहिले फेरि जनजागरण आएको छ ।

सम्बन्धित लेखहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • Side Bar Add