छाम्पा ङवाङ ठिन्ले शेर्पा
शिक्षक, पाथीभारा प्रा.वि. श्यामा–१, दोलखा
हिमाली क्षेत्रका बौद्ध समाजमा प्रतिष्ठित धर्म–संस्कृतिको केन्द्र वा पूर्वज गुरूहरूले प्राप्त गरिएका शैक्षिक स्मारकलाई गुम्बा भनिन्छ । सधै काममा व्यस्त रहने अधिकांश गृहस्थीहरूलाई बौद्ध दर्शनको ज्ञान हासिल गराउन, त्यागको भावना जगाउन, विश्व जनसमुदायमा कलाकृति चित्रकलाको जगेर्ण गर्न, धर्म संस्कृतिको संरक्षण गर्न, पूर्खाका साधन संलग्न योगदानको कृति स्तम्भ भावी पीढि सन्तानहरूलाई हस्तान्तरण गर्न र समाजमा शान्तिपूर्ण वातावरण बनाउन उचित ठाँउमा गुम्बा निर्माण गरिन्छ ।
प्रचिनकालमा राजा बिम्बिसारले “वेणुवन विहार” र आठौ शताब्दीमा ठिस्रोङ देउचेनले “साम्य महाविहार” बनाई बुद्ध र भिक्षु संघलाई चढाएको थियो । भगावन बुद्धले पनि असंख्य गुम्बा निर्माण गर्न लगाई त्यसवाट शान्तिको प्रत्याभुति दिलाउनु भएको ज्वलन्त उदाहरणहरू प्राय विश्वका सबै ठाँउमा देख्न सकिन्छ । गुम्बालाई परम्परागत सामाजिक साँस्कृतिक सम्बन्धलाई मजबुत बनाउने महत्वपूर्ण संस्थाको रूपमा, एक पर्यटकीय गन्तव्य स्थलको रूपमा, प्राकृतिक वातावरणीय संरक्षणको निम्ति क्रियाशिल संस्थाको रूपमा तथा ऐतिहासिक पुरातात्विक दृष्टिकोणबाट विश्व सम्पदाको रूपमा समेत चिनिन्छ । अथवा गुम्बा एउटा पाठ पूजा गर्ने मन्दिर मात्र नभएर उच्च शिक्षा दिने बौद्ध विश्व विद्यालय, औषधी उपचारको बिधि सिकाउने शिक्षण अस्पतल, चित्रकला मुर्तिकला बारेमा अध्यायन गराउने कला केन्द्र, खगोल शास्त्रको अध्यायन गराउने ज्योतिषालय, धार्मिक नृत्य सिकाइने नृत्य केन्द्र र मानवको मन मष्तिकलाई संसारिक बिषय वस्तुबाट क्रमशः हटाई आध्यात्मिक विकास गराउने ध्यान केन्द्र समेत हो । संक्षेपमा भन्नुपर्दा गुम्बा बौद्धमार्गीहरूको आस्थाको केन्द्र मात्र नभएर बौद्ध दर्शन अध्यायन अध्यापन गर्ने र अभ्यास गर्ने केन्द्र पनि हो । तसर्थ नेपालमा धर्म निरपेक्ष राज्य घोषणा सँगै लागु गरिएको गुम्बा शिक्षालाई सम्पूर्ण गुम्बाहरूमा लागु गराउन बिषयगत शिक्षक, पाठ्यपुस्तक र अन्य अनुदानहरू उपलब्ध गरी गुम्बा शिक्षालाई प्रभावकारी रूपमा अगाडी बढाउने तर्फ सरकारी तथा गैरसरकारी निकायको ध्यान जानु पर्ने अति आवश्यक देखिन्छ ।