देवेन्द्र भट्टराई

असार ३१, २०७४- सामुमा बसेकी छन्— डोल्मा शेर्पा । आँसुले भिजेका परेली पुछ्दै र गढेको स्वर उठाउन खोज्दै डोल्मा सुनाइरहेकी छन्, एउटा वृत्तान्त— छोरीको जन्म, हारेको कर्म । डोल्माकै शब्दमा ‘अनाहकको अभियोग’ बेहोर्दै खाडीको कुवेतमा १० वर्षसम्म जेल सजाय बेहोर्नुपर्दा उनकै जीवनमा पनि धेरै कुरा फेरबदल भएको रहेछ । जस्तो : अहिले उनी आफ्नै शेर्पा भाषा राम्ररी बोल्न नसक्ने भएकी रहिछन्, कसोकसो सिकेको नेपाली पनि ‘हिन्दीयुक्त’ भएको रहेछ । अरबी लवजका कारण बरु वाक्यैपिच्छे उनी भन्न थालेकी रहिछन्— इन्साल्ला… !

एक फिलिपिनो सहकर्मीको हत्याको बात आइलागेर र परिबन्दका अनेक चरण बेहोरेर डोल्माले सुरुमा आफूलाई नै फाँसीको डोरीमा झुन्ड्याउने कागजमा ल्याप्चे हानेकी थिइन् । त्यसपछि आफ्नै औंठाले आफ्ना लागि आजीवन कारावासको ल्याप्चे लगाइन् । अन्तिममा तोकिएको १० वर्षे जेलको सजाय पूरा गर्दै गत शनिबार काठमाडौं उत्रनासाथै उनले सम्झिन्— गोर्खाको चुमलिङ, चुमछेत गाउँमा एक्लै बसिरहेकी आमा डोल्मा याङजिनलाई जसलाई उनले २२ वर्षयता (गाउँ छाडेपछि) देख्न पाएकी छैनन् ।
साँच्चै, भर्खरै २ वर्ष टेकेको दूधे बालकलाई आफन्तको साथमा छाडेर कमाइधमाइको खोजीमा निस्केकी एउटी आमाको सबैभन्दा ‘ठूलो सपना’ के हुन सक्ला ?
अरूले सोचेजस्तो ‘ठूलो सपना’ केही थिएन । सिन्धुपाल्चोकमा विकट मानिने गोम्थाङ गाउँमा घर भएकी डोल्मा शेर्पा थोरबहुत कमाइ होस् र, केही वर्षमा घर फिरेर छोरालाई राम्रै स्कुलमा हालेर पढाउन सकियोस् भनेर बिदेसिएकी थिइन् । उनका श्रीमान् आङ तेन्जी शेर्पाले पनि श्रीमतीलाई विदेश पढाउन भरथेग गरेका थिए । ‘सुरुमा मलाई ओमान भन्ने देशको भिसा दिइएको थियो,’ शारीरिक थकानसँगै वर्षौंवर्षको मानसिक तनाव देखिने चेहरा लिएर डोल्मा बोलिरहेकी थिइन्, ‘मलाई काँकडभिट्टा हुँदै दिल्ली र त्यहाँबाट कुवेत लगिएको थियो । विदेश गएका नाममा त्यही ठूलो प्लेनमा उडेको सम्झना छ, अरू केही थाहा छैन ।’

नियत कि नियति ?
गोरखा सदरमुकामबाट झन्डै ७ दिन पैदल हिँडेर पुगिने चुमछेत गाउँमा जन्मे–हुर्केकी डोल्माले भूगोलको विकटता र परिवारको गरिबीका कारण लेखपढ गर्नै पाइनन् । कामको खोजीसँगै भरपेट खान पाउने इच्छा लिएर उनी १५ वर्षकै उमेरमा काठमाडौं आइपुगिन् । स्वयम्भूमा रहेका आफन्तसँग बसेर सामान्य ज्यालादारी काम गर्न थालिन् । काठमाडौं आएरै नेपाली भाषा बोल्न मुस्किलले सिकिन् । संयोगले सिन्धुपाल्चोक, गोम्थाङ घर भएका आङतेन्जी शेर्पासँग भेट भएपछि उनको जीवनको मोड एकाएक बदलियो । उनी पैदलमा ७ दिन लाग्ने माइतीघर छाडेर पैदलमा उत्ति नै दिन लाग्ने ‘कर्मघर’ पुगिन् । त्यहाँ पनि हैरानी र संघर्षको कुरा उस्तै थियो । आफन्त र गाउँघरमा समेत विदेश (खाडी) जाने र पैसो कमाउने हावा चलिसकेको रहेछ । काखमा सानो २ वर्षे छोरा थियो । तैपनि श्रीमान् तेन्जी र अरू नातेदारको सल्लाहमा उनी थाहै नभएको पराइभूमिमा पुगिन्— साथमा न भाषा छ, न सीप । न चलाखी न तरक्की ।
‘कुवेत पुग्नासाथ मजस्तै काम खोज्दै आएका केटीहरूको एउटा सेन्टरमा मलाई लगियो, त्यसको भोलिपल्टै मलाई एउटा कुवेती मालिककहाँ पठाइयो,’ झन्डै ११ वर्ष पुराना दिनहरू डोल्मा जेनतेन सम्झिरहेकी थिइन्, ‘त्यहाँ दिनरात नभनी काम गर्नुपथ्र्यो । मलाई अरबी, हिन्दी भाषा पनि आउँदैनथ्यो । धेरै कुरो बुझ्दिनथें, कपिल (मालिक) को झम्टाइ खेपिरहनुपथ्र्यो ।’ यसरी, पहिलो घरमा मुस्किलले ५ महिना पनि नबस्दै डोल्मालाई फेरि कपिलले हाउसमेड सेन्टरमै फिर्ता गरिदिएछन् । अर्कोपटक, अर्कै कुवेतीको घरमा उनी पुगिन् जहाँ दुई वर्षदेखि काम गरिरहेकी एक फिलिपिनो खद्दामा (हाउसमेड) भेटिइन्— माइलिन ।
‘माइलिन पनि आफ्नो गरिबीको बाध्यताले मजस्तै एउटा काखको छोरोलाई फिलिपिन्समै छाडेर काम खोज्न आएकी रहिछे । तर, ऊ भने अरबी भाषा बोल्न जान्ने भइसकेकी थिई, उसलाई काम पनि आउँथ्यो,’ डोल्मा सम्झिन्छिन्, ‘उसैले मलाई काम सिकाउने गर्थी । हामी निकै मिलेर बसेका थियौं । हामी एउटै काइँयोले कपाल कोथ्र्यौं । म अरबी भाषा अलिअलि बुझ्ने भएकाले दु:ख–सुखका कुराहरू गथ्र्यौं । उसको काम खाना पकाउने थियो, मेरो काम सरसफाइ गर्ने हुन्थ्यो । आफ्नो काम सकेर घरको छतमा बनेको (चार तलामाथि) दुई कोठामा गएर हामी सुत्थ्यौं ।’
कुरो गर्दै जाँदा, डोल्मालाई नसोचेको ‘नाम–चिनारी’ दिलाउने त्यो ‘कालो रात’ सम्झने बेलामा डोल्मा निकै बेर मौन रहिन् । फेरि गहभरि आँसु भरिए, अनि बिस्तारै बोलिन्, ‘त्यो रातको कुरा कि भगवान्लाई थाहा छ, कि मलाई मात्रै थाहा छ । भगवान् बुद्ध र पशुपतिनाथको कसम खाएर म बोल्दै छु ।’
घरमा कपिल परिवार ‘साफर’ (बिदा मनाउन) कतै गएको एक साता भइसकेको रहेछ । नियमित घरेलु धन्दापछि डोल्मा र माइलिन छतको कोठामा जाँदै रहेछन् । माइलिन कोठाभित्र पुगिसकेकी थिइन् भने डोल्मा छतको बत्ती निभाउन बत्तीतिर जाँदै थिइन् । ‘कसैले पछाडिबाट आएर मेरो मुख थुनिदियो, पञ्जा लगाएको हातले,’ डोल्मा सम्झिन्छिन्, ‘मैले देखें, अरू ३ जना केटाहरू माइलिनको कोठामा छिरेका थिए । मैले त्यो पञ्जाबाट उम्किन बल गरिहेरें, तर त्यो केटो निकै दह्रो थियो । मैले सकिनँ ।’ घरमा चारैतिर गेट लागेको हुन्थ्यो । ती केटाहरू कहाँबाट, कसरी आए— त्यो पनि डोल्मा भन्नै सक्तिनन् ।
डोल्माका अनुसार, भित्र कोठाबाट कराएको र हेल्प–हेल्प भनेको माइलिनको स्वर आइरहेको थियो । सायद उनीहरू (फिलिपिनो र ती केटाहरू) बीच केही लिनुदिनु थियो कि ? अथवा अरू के हो, डोल्मा केही भन्न सक्दिनन् । ती केटाहरूले माइलिनसँग शारीरिक दुव्र्यवहार पो गरेका थिए कि ? त्यो पनि उनी भन्न सक्दिनन् । झन्डै आधा घण्टासम्म त्यो ‘नसोचेको स्थिति’ चलिरह्यो ।
‘केही छिनमै मलाई समातेर घिस्याउँदै भित्र कोठामा लगियो, मुख छोपिएकै अवस्थामा । अनि जबरजस्ती त्यहाँ लडिरहेकी फिलिपिनो केटीको अनुहार र घाँटीमा छुन लगाइयो । त्यस बेला त्यो केटीको आवाज बन्द भइसकेको थियो, ऊ एकोहोरो आँखा हेरिरहेकी थिई,’ डोल्माले वृत्तान्त सुनाइन्, ‘सबै केटाहरूले हातमा पञ्जा लगाएका थिए । ‘पुलिस, पुलिस’ भन्दै उनीहरूले मलाई त्यो पल्टिरहेकी केटीको जीउमा जबरजस्ती हात हाल्न लगाइरहे । मैले अटेर गर्दा कुटपिट पनि गरे । ‘हामी पुलिस हौं,’ भनेर बोलीबाट डर देखाइएको हुन सक्छ ।’ उनका अनुसार, यो नसोचेको अवस्था–क्षण यति छिटो बित्यो कि त्यसबाट कसरी उम्कने भन्ने सोच्नसम्म सकिने स्थिति थिएन ।
‘अनि तिनै केटाहरू मिलेर मेरो हात बाँधिदिए, पछाडि लगेर । आँखामा पट्टी पनि लगाइयो । मलाई घिसार्दै लिएर गए, कता हो कता । मलाई गाडीको डिकीमा हालिएको थियो । ती केटाहरू अरबीमा बोलिरहेका थिए, तर मैले केही ठम्याउन सकिनँ । झन्डै आधा घण्टा गाडी बेतोड दौडाएपछि एउटा सडकको छेउमा, नालीजस्तोमा मलाई छाडी राखेर उनीहरू कतै गए । त्यसरी छाड्दा मेरो आँखामा पट्टी छँदै थियो, हात भने खोलिएको थियो,’ यो क्षणमा आइपुग्दा डोल्माको आँसु ‘भेलसरी’ बनेको थियो । ‘हिकहिक’ थामिन केही बेर पर्खनैपर्‍यो ।
जीउमा एकसरो लुगा छ । खुट्टामा जुत्ता–चप्पलसमेत छैन । छिप्पिएको साँझको समय छ । टाढाटाढा घरमा बत्ती बलिरहेको देखिन्छ । वरपर खजुरका बोट छन् । त्यो कुनोमा सडक बत्ती पनि छैन, अन्धकार चारैतिर । यो विपत्तिमा के गर्ने ? डोल्मा कराउन–चिच्याउन थालिन् । तल जमिन, माथि आकाश र चलिरहेको तातो हावाले के सुन्यो होला ? ‘मैले झट्ट आँखा खोल्न पनि सकिनँ । बिस्तारै आँखा खोलें, सबैतिर तिरमिरी भयो । नजिकै बाटोमा गाडीहरू पातलो हिंड्दै थिए । मेरा खुट्टामा चप्पल पनि थिएन । म रुँदै अघि बढिरहेकी थिएँ— कता हो कता । धेरै बेर हिंडेपछि मान्छेको अलिक हूल भएको ठाउँ आइपुग्यो, चोक बजारजस्तो । मलाई कुन ठाउँ, कुन दिशा केही थाहा थिएन । मेरो हालत देखेर मान्छेहरू मैतिर हेर्दै खासखुस गरिरहेका थिए,’ कुनै सस्पेन्स कथाजस्तो डोल्मा–नियति अघि बढिरहेको थियो ।
सानो बजारको त्यो भीडमा कोही बंगाली, कोही भारतीय पनि थिए । एक–दुई नेपाली पनि रहेछन् । त्यसमध्ये एउटा परिवारले अचम्मैसँग डोल्मालाई अलिक ख्याल गरिरहेको रहेछ । त्यो परिवारमा श्रीमान्, श्रीमती र एउटी ठूली छोरी थिइन् । ‘म पागलजस्तै भीडको कुनोमा थिएँ, मलाई हेरिरहने परिवारकी महिलाले हिन्दीमै केही कुरा सोधिन् । तर, मैले बुझिनँ । अनि फेरि अरबीमै सोधिन्— औ जिन्सिया (तिमी कुन देशको हौ ?) मैले यत्ति भने बुझेर भनें— नेपाल ।
संयोग के भने त्यही भीडमा हिँडिरहेकी एक जना एउटी नेपाली दिदी पनि रहिछन् । ‘नेपाल’ भन्ने सुनेर उनी मेरो नजिकै आइन् । अनि तिनै दिदीमार्फत् डोल्माले सबै घटना उभिएरै सुनाइन्, ती दिदीले त्यो छेउमा रहेको परिवारलाई अरबीमा सबै कुरा उल्था गरिदिइछन् । डोल्माको दु:खलाग्दो स्थिति र घटना सुनेर त्यो परिवारले आफ्ना साथमा गाडीमा राखेर उनीहरूकै घरमा लगेछ, ती नेपाली दिदी पनि साथैमा गइन् । त्यस बेला डोल्मासँग पासपोर्ट, पताका (परिचयपत्र) केही थिएन । उनी आफूले मैले काम गर्ने घर कहाँ छ पनि भन्न सक्ने अवस्थामा थिइनन् । ‘एउटी खद्दामाको काम भनेको घरको चौघेराभित्रै हुन्थ्यो, धेरै टाढा गयो भनेको बिहान फोहोर फ्याँक्ने गाडी आउँदा घरको पर्खालसम्म मात्रै जान पाइन्थ्यो । अब कसरी आफूले काम गर्ने घरको दिशा, ठाउँ थाहा पाउनु ?’ डोल्माले थपिन् ।
केही बेरको ड्राइभिङमा ती विदेशी परिवारको घरमा डोल्मा पुगिन् । साथमा रहेकी नेपाली दिदीले डोल्मालाई नुहाइधुहाइ गर्न, लुगा फेर्न सहयोग गरिछन् । त्यो रात डोल्मा त्यही परिवारमा सहारा लिएर बसिछन् । ‘सबै कुरा गरेपछि र मेरो स्थिति थाहा पाएपछि भोलिपल्ट बिहान मलाई ती परिवारका श्रीमान्ले नजिकै ‘मक्फर’ (प्रहरी स्टेसन) को गेटैमा लगेर छाडिदिए । यहाँ वर्षको एकचोटि घर फर्कन पाइने (एमनेस्टी) अवसर खुल्छ, अनि घर जान पाउँछौ भनेर मलाई भनिएको थियो,’ डोल्माले सुनाइन् ।
त्यो पराई भूमिमा आफ्नो जात, धर्म र रगतले नदिएको साथ–सहयोग आफैंमा अनौठो थियो । डोल्माले कुराकानीमा थाहा पाएकी थिइन्— ती व्यक्ति सागिर आमेद थिए, एक पाकिस्तानी आप्रवासी जसले आफ्नो कुवेत र पाकिस्तानको दुवै फोन नम्बर डोल्मालाई दिएका थिएर भनेका रहेछन्, ‘जे जता भए पनि केही विपत् आइपरेमा मलाई फोन गर्न नबिर्सनू ।’

नसोचेको जेलयात्रा
डोल्मालाई सुरुका ५ दिन त्यही ‘मक्फर’ मा राखिएछ । फेरि उनको ‘कपिल’ ले पनि प्रहरी स्टेसनमा गएर उजुरी दिइसकेको रहेछ— फिलिपिनो खद्दामालाई मारेर नेपाली खद्दामा (डोल्मा) घरबाट भागेको छ भनेर ।
‘अनि मेरो भाग्यको साइत बिग्रिँदै गएजस्तो भइहाल्यो,’ उनी सम्झिन्छिन्, ‘कहिले कुन प्रहरी स्टेसन, कहिले कुनमा लगिन्थ्यो । म दोहोरो कुरा गर्नै नसकी पुलिसका अघि–पछि हुन्थें ।’ पुलिस स्टेसनहरूमा अरबी बोल्ने थिए, अंग्रेजी र हिन्दी बोल्ने पनि थिए । डोल्मालाई प्रहरीले संकेतमा (हात बनाएर देखाउँदै, अन्ति सबै त मौत ?) ‘तैंले घाँटी थिचेर मारेको हो ?’ भनेर दोहोर्‍याउँदै सोध्ने रहेछ ।
डोल्मा टाउको हल्लाउँदै ‘आना माई’ (होइन) भन्दिरहिछन् । अरू धेरै कुरा पनि प्रहरीले सोध्थ्यो, टाउको हल्लाएरै उनी कुरा गर्थिन्— संकेतमा । बेला–बेला चर्को स्वरमा हप्काउँथ्यो पनि । त्यहाँबाट उनलाई ठूलो जेलमा लगिएछ, त्यो दर्गादिशा के हो— केही थाहा छैन ।
‘ठूलो जेलमा भने सुरुका दिनमा एउटा सानो कोठा दिइन्थ्यो । एक्लै बस्नुपथ्र्यो । जेलको एउटा ड्रेस दिइएको थियो । खान भित्रै दिन्थ्यो । संयोगले एक जना नेपाली दिदी माया धिमाल जेलमा भेटिनुभयो । उहाँले साबुन–सेम्पो ल्याइदिनुहुन्थ्यो,’ उनी सम्झिन्छिन्, ‘जेलभित्र को, कसरी जेल आइपुगेको हो
भनेर सोधपुछ गर्नै पाइन्नथ्यो । सबै कैदी, सबै अपराधीझैं हुन्थे ।’
त्यहाँबाट ५ दिनपछि डोल्मालाई अदालत लगिएछ । उनलाई अरबी भाषा नआउने भएकाले एउटा हिन्दी वकिल (भारतीय) लाई दोभाषे राखिएको थियो । डोल्माले आफ्ना कुरा नेपालीमा राख्थिन् । दोभाषे वकिलले एकै वाक्यमा कुरा सकिहाल्थ्यो । उनी चार कुरा गर्थिन्, वकिल एक कुरामै सबै भनाइ टुंग्याउँथ्यो । केही बेला डोल्मालाई ‘कोर्ट’ मा बोल्न दिइन्थ्यो, केही बेला उभिंँदै पुग्थ्यो । थुप्रैपटक लगिएको थियो ‘कोर्ट’ ।
त्यसैगरी, झन्डै एक वर्ष अदालत धाएपछि ‘अन्तिम कोर्ट’ को पालो टुंगिसकेको रहेछ । त्यस बेलासम्म डोल्मालाई अलि–अलि हिन्दी, अरबी पनि आउन थालेको थियो । ‘एक दिन जेलको कार्यालयमा लगेर एकैचोटि एउटा कागजमा औंठाछाप गर्न भनियो । यता जेलमा मलाई पुराना कैदीले सिकाएका थिए— कागजमा लेखेको कुरा नपढी कतै पनि सही नगर्नु, औंठाछाप नलगाउनू,’ डोल्माले सुनाइन्, ‘अनि मैले आँट बटुलेर सोधें— यो के कागज हो ?
नजिकै उभिएकी ‘आबला’ (प्रहरी) दिदीले भनिन्, ‘यो तिमीलाई फाँसी दिने पेपर हो ।’ तब पो थाहा भयो, त्यति बेला ती केटाहरूले जबर्जस्ती माइलिनको मृत शरीरमा समाउन लगाएको अर्थ ‘फिंगर प्रिन्ट’ का लागि पो रहेछ ।
ओहो ! अब सही नगरौं भने पनि नहुने रहेछ । डोल्माको कुरो सुन्ने वकिल, सरकार कोही त थिएन । दूतावास भन्ने चीजबारे उनलाई पत्तै थिएन । उनले रुँदै ल्याप्चे लगाएकी रहिछन् । अनि रुँदै जेलको कोठामा पुगिछन् । कोठामा पुगेपछि थुप्रिएका साथीभाइले सोधेछन्, ‘तिम्रो एम्बेसी कहाँ छ ? अथवा तिमीले चिनेको ठूलो मान्छे को छ ? खोज्नुपर्छ अब ।’
‘त्यस बेला मलाई याद भयो— सागिर सापको । उहाँको फोन नम्बर मसँग थियो । मैले हुकुमतकै नम्बरबाट ‘सागिर साप, मलाई त फाँसीको सजाय सुनायो भनेर सुनाएँ,’ अभर पर्दा सहयोग गर्ने ती पराइको गुन सम्झिँदै डोल्मा भन्छिन्, ‘सागिर सापले त्यसपछि कुवेतमा अप्ठ्यारोमा परेका नेपालीलाई सघाउ गर्ने मित्र सिंजाली भन्ने दाइलाई फोन गरेका रहेछन् । मित्र दाइले मेरो कुरा साउदीमा रहेका नेपाली एम्बेसीमा पुर्‍याउनुभएको रहेछ ।’ सागिरबाटै डोल्माले मित्र सिंजालीको नम्बर पाएकी रहिछन् । डोल्माले जेलबाटै मित्रलाई फोन गरेर आफ्नो मर्ने दिन आइसकेको विपत् सुनाएकी रहिछन् । यसरी फोन गरेको तीन सातापछि मित्र सिंजाली साउदीबाट आएका नेपाली दूतावासका प्रतिनिधिसहित डोल्मालाई भेट्न जेल पुगेछन् ।
‘मलाई फाँसी दिने कुरो सबैतिर फैलिसकेको छ भन्ने पनि मलाई थाहा थिएन । सागिर साप र मित्र सरको सहयोग नपाएको भए म आज फाँसीको फन्दामा परिसकेकी हुन्थें,’ गुनी बनेर डोल्मा भन्छिन् । त्यसपछि नेपाली एम्बेसीले डोल्माका लागि वकिल तोक्ने, देश–विदेशमा रहेका नेपाली जगत्ले ‘डोल्मा बचाउ अभियान’ थालेको र मृत्यु भएकी फिलिपिनो खद्दामाको परिवारलाई ब्लड–मनी (तानाजल) उठाउने काममा पनि निकै चहलपहल बढेको कुरा डोल्माले धेरैपछि थाहा पाएकी रहिछन् ।
‘मलाई बाहिरी दुनियाँमा के भइरहेको छ भन्ने थाहा थिएन । नेपालमा पनि मेराबारेमा कसले के गरिरहेको छ, थाहा थिएन । पछि थाहा हुन थाल्यो, मोबाइल साथमा हुने र लुकेर चलाउने अरू दिदीबहिनी अथवा दूतावासको सेल्टरमा बसेर आएकाहरूले भन्थे— तिम्रा बारेमा फेसबुकमा आएको छ, युट्युबमा आएको छ । तिमीलाई संसारभरका नेपाली दाजुभाइले हेल्प गरेका छन् । तिम्रो ‘तानाजल’ तिर्न नेपाल सरकारले पनि सहयोग गरेको छ,’ डोल्मा भन्छिन्, ‘कसैको विपत्मा कोही छैन भने उपरवाले त हुन्छ नै भनेजस्तो भयो । मेरा आफन्त कोही थिएनन्, तर संसारभर रहेका नेपालीले मलाई बँचाएका रहेछन् । यो थाहा पाएर म धेरै दिन खुसीको आँसु रोइरहें ।’

जेलभित्र रुँदै र रिसाउँदै
जेल पुगेपछि डोल्माले थाहा पाइन्— जेलभित्रै उनकोजस्तो केस (हत्या अभियोग) लाई अलिक ‘डेन्जर’ सोचिंदोरहेछ । जेलभित्रै काम पाउन पनि मुस्किल हुने रहेछ । अलिकति सीप हुनेहरू सिलाइबुनाइका काम गर्ने रहेछन् । तर, उनमा सीप पनि थिएन । ‘एक दिन जेलभित्रैको मुदिर (प्रहरी प्रमुख) लाई मैले बिन्ती गरें— मलाई काम चाहियो भनेर । मेरो कोही मान्छे छैन, कसैले खर्च पनि दिंदैन,’ उनले सुनाइन्, ‘अनि मैले जेलभित्रै बस्ने कुवेतीहरूको लुगा धोएर २/४ दिनार उठाउँदै साबुन–सेम्पु खर्च चलाउँथे । कहिलेकाहीं कुरुस (तन्ना वा पर्दामा बुट्टा भर्ने) बुन्ने काम गर्थे ।
डोल्माको दाबी छ— म निर्दोष छु भन्ने कुरा भगवान् बुद्ध र पशुपतिनाथलाई थाहा छ । तर, बाहिर कुरा हुँदोरहेछ— ‘डोल्मा शेर्पाको अनुहार हेर्न पाए पनि हुन्थ्यो, फिलिपिनोको घाँटी निचोरेर आएको रे…।’ हो, यसोभन्दा भने डोल्माको मन दुख्ने रहेछ, त्यही कारण उनी रिसाउँदी रहिछन् । दूतावासले र अरू सरकारी संस्थाले कहिल्यै पनि ‘डोल्मालाई परिबन्दमा पारिएको’ भनेर नभनेकोमा र सधैंभरि ‘डोल्माले फिलिपिनो खद्दामालाई मारेको’ भनेर बोल्ने गरेकोमा ‘यथार्थ कसैले–कहिल्यै बुझ्नै नसकेको अथवा नचाहेको’ उनलाई लाग्दो रहेछ । जेलमा कोही उनलाई हेरेर ‘बिचरा’ भन्दै चुक्चुकाउँदा रहेछन्, कोही भने अपराध नगरेको भए किन जेल आउनु र ? भन्ने रहेछन् ।
जेलमा भेटघाट गर्न दूतावासबाहेकका कोही पनि आउन पाउँदैनथे । सूचना र सम्पर्कको खडेरी कति हुन्थ्यो भने उनलाई लागेको मृत्युदण्डको सजाय हटाइएको जानकारी उनले यो निर्णय भएको ३ वर्षपछि मात्रै पाइन् । २५ वर्षे आजीवन कारावास १० वर्षमा झरेको खबर यो निर्णय भएको २ वर्षमा मात्रै पाइन् । बरु, जेलबाट छुट्कारा पाउने जुन २०, २०१७ का बारे भने उनलाई तीन महिनाअघि नै थाहा भएको थियो ।
‘कहिलेकाहीं फोन गर्न मौका पाएका बेला म मित्र दाइलाई फोन गर्थें, फोनमा रोइरहन्थें,’ उनी सम्झिन्छिन्, ‘मित्र मेरा लागि सर थिएनन्, मेरा माइतीजस्तै थिए । झगडा गर्न, रिसाउन अथवा आफ्नो पीरमर्का सुनाउनै पनि मित्र दाइलाई सम्झन्थें ।’
मित्रले पनि भन्ने रहेछन्, ‘तिमी नरुनू, फाँसी दिइहाल्दैन । आजीवन कारावास पनि हुन्न । भगवान्ले हेर्छन्— इन्साल्ला ।’ तैपनि हरेक वर्ष इस्लाम पर्व वा राजाको जन्मोत्सवमा कैदीहरूले छुट्कारा पाउने बेलामा जहिल्यै पनि ‘डोल्मा शेर्पाका बारे जानकारी छैन, उसको सक्कल कागजात कहाँ छ— थाहा छैन’ भनेर तर्किने गरेको दूतावासको व्यवहारले भने उनको चित्त काटिने रहेछ । यसैगरी, जेलमा थुनिएका आफ्ना नागरिकलाई एक/दुई साताको अन्तरमा फिलिपिन्सले २० दिनार, भारतले साढे ३ दिनार, श्रीलंकाले ३ दिनार, इथियोपियाले ३० दिनारसम्म दिने गरेको थाहा पाए पनि नेपाली दूतावासले कुनै भरथेग नगरेकोमा उनलाई ‘अनौठो’ लागेको रहेछ । ‘मैले एम्बेसीको मुदिर (राजदूत) को नम्बर खोजेकी थिएँ, कहिल्यै दिइएन । दूतावासमा फोन गर्दा पनि ठ्याक्कै लाइन काटिदिन्थे,’ उनले तीतो पोखिन् ।
डोल्माका अनुसार उनी बसेको ठूलो जेलमा अमेरिका, बेलायत, हिन्दी (भारतीय) सबै देशका कैदी थिए । त्यसमा कुवेतीहरू पनि थिए । तर, जेलमै भए पनि कुवेतीहरू भने आफूले लगाएको लुगा धुन र केही ज्याला दिनमा तयारै हुन्थे । जेलभित्रको खानपिनमा भने डोल्मालाई कुनै गुनासो रहेनछ, भरपेट खान पाइने । मुरुब्बा, खबुज वा चामल–चिकेन जे भए पनि ।
जेलभित्र एउटा कोठामा होस्टलजस्तो ४ वटा फोल्ड खाट (तलमाथि गरेर) हुँदो रहेछ । त्यसमा डोल्मा कुवेती, श्रीलंकाली र भारतीयसँग बस्ने गरेकी रहिछन् । नेपाली महिलाहरू पनि जेलमा थिए । तर, झगडा गर्न, कुरा लगाउन अथवा घोचेर बोल्नैमा पनि नेपाली ‘ननिको’ भएकाले उनी विदेशीसँग बसेकी रहिछन् ।

जेलभित्र चुमलुङ सम्झेर
सामान्य पढ्न, लेख्नसमेत नसक्ने डोल्मा नेपालमा रहेका श्रीमान्, सानो छोरा वा कसैलाई पत्र लेख्नुपर्दा पनि अरूसँग सहयोग माग्थिन् । गोमथाङ गाउँमा छाडिएको सानो छोरो र चुमलुङमा बस्ने बूढी आमालाई जेलभित्रबाट खुबै सम्झिरहेकी हुन्थिन् । काठमाडौंमा रहेका हितैषी केसाङ छेतेन (सेभिङ डोल्मा फिल्मका निर्देशक) ले डोल्माका श्रीमान्, छोरासहितको आफन्तको फोटो–एल्बम पठाइदिएका रहेछन्— दूतावासमार्फत् ।
आफ्नो भाग्य सम्झेर रोइरहेका बेला डोल्मा यही एल्बम ओल्टाइपल्टाइ गर्दिरहिछन् । ‘म अब छोराका लागि बाँच्न चाहन्छु, यत्ति हो । म जे जस्तो भए पनि अब दु:खै गरेर खान्छु, दु:ख गर्न र बेहोर्न मैले जानेकी छु,’ काठमाडौंमा भर्खरै खुलेको सेवा–सुरक्षासहितको संस्था हार्मोनी होमकेयरमा बसिरहेकी डोल्माले सुनाइन् ।
अरूभन्दा पनि खाडी–भोगाइ बेहोरेर आएपछि डोल्माले बुझेको गुह्य ‘गतिलो पाठ’ झैं बनेको छ । ‘सकेसम्म विदेश जाँदै नजानू । त्यसमा पनि कुवेत भन्ने ठाउँमा नजानू । सकेसम्म पानी पिएरै भए पनि आफ्नै देशमा काम गर्नू, यतै बस्नू । यदि जानैपर्छ भने त्यो देशको भाषा र सबैतिर बिक्ने सीप सिकेर मात्रै जानू । अनि सरकारले बनाएको बाटोबाट मात्रै विदेश जानू,’ उनी मन्त्रझैं एकै सासमा भन्छिन्, ‘जस्तो भए पनि आफ्नो देश भनेको आफ्नै हुँदो रहेछ ।’
कुराकानी सकिंदै गर्दा डोल्माले आफ्नो एल्बमको भित्री पातोबाट एउटा कागजको टुक्रा झिकेर देखाइन् जहाँ अर्का ‘परिबन्दमा परेका पात्र’ थिए । डोल्माले त्यो चिर्कटोमा के लेखेको छ भन्ने पनि पढ्न सकेकी थिइनन् । त्यो चिर्कटोमा थियो— युवती हत्याको अभियोगमा जापानमा १५ वर्ष थुनिएपछि सन् २०१२ मा ‘निर्दोष’ पुष्टि भएर घर फिरेका गोविन्द मैनालीबारेको समाचार ।
‘उहाँ पनि मजस्तै पीडित, पछि निर्दोष भएर जेलबाट निक्लेको अरे,’ डोल्माले सुनाइन्, ‘यो दुनियाँमा मजस्तै भाग्यको खेलमा नसोचेको परिबन्द खेप्नेहरू अरू पनि हुँदा रहेछन्, त्यसमाथि नेपाली पनि रहेछन् भनेर यो कागज सँगै बोकेर हिंडेकी हुँ (हेर्नुहोस् तस्बिरमा) ।’
यति भनेर डोल्माले आफूलाई जीवन दिने कुवेतस्थित पाकिस्तानी नागरिक सागिर आमेद, मित्र सिंजाली दाइ र काठमाडौंका केसाङ छेतेनलाई हृदयदेखि धन्यवाद भन्न चाहिन् । जेलबाट खाली हात फर्किंदै गर्दा केही चक्लेटका प्याकेट दिने कैदी दिदीबहिनी र ५ हजार नेपाली रुपैयाँ, एक जोर कुर्ता–सुरुवाल र एक जोर चप्पल उपहार दिने सागिर सापको परिवारलाई सम्झेर भन्न चाहिन्— इन्साल्ला…!